काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड घुस बार्गेनिङ गरेको आरोपमा सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठ आफ्नो पद जोगाइदिन हारगुहार गरिरहेका छन् । उनी सोमबार संसद् सचिवालय पुगेका थिए । श्रेष्ठले आफ्नो बचाउमा कुरा राखेको बुझिएको छ । उनले आफूलाई यथेष्ट कुरा राख्न नपाई कारबाही गरेको भन्दै हारगुहार गरेका थिए ।
संसद सचिवालयले श्रेष्ठको पदमुक्तिसम्बन्धी रास्वपाको सिफारिसमाथि अध्ययन गरिरहेको छ । पार्टीले सबै प्रक्रिया पूरा गरेको भए निर्णय सदर गर्ने सचिवालयले जनाएको छ । अहिले रास्वपाले स्पष्टीकरण सोधेको, श्रेष्ठले जवाफ दिएको वा नदिएको र सुनुवाइको मौका दिएको छ वा छैन भन्ने सचिवालयले अध्ययन गरिरहेको छ । राजनीतिक दलका सांसदलाई उसको संसदीय दलले हटाउनुपर्ने संसद् सचिवालयका अधिकारीहरुको बुझाइ रहेकाले श्रेष्ठको पद गुम्ने निश्चित रहेको छ ।
हिजै संसदमा रवि लामिछाने नेतृत्वको रास्वपाका सचेतक सन्तोष परियार पनि संसद् सचिवालय पुगेका थिए । उनी ढाकाकुमारको पदमुक्तिसम्बन्धी पछिल्लो अपडेट बुझ्न गएको बताइन्छ ।
राजनीतिक दलसम्बन्धी ऐनले संसदीय दल र त्यसको निर्णयलाई त्यत्ति महत्व नदिने भएकाले पार्टी कमिटीको निर्णयलाई अन्तिम मान्ने कानुनी प्रचलन छ । त्यसैले सांसदको निलम्बन वा हटाउने निर्णयमा मूलतः राजनीतिक दलको केन्द्रीय समिति वा केन्द्रीय कार्यकारिणी समितिलाई आधार बनाइन्छ । रास्वपाको कार्यकारिणी बैठकले श्रेष्ठलाई हटाएर उनको ठाउँमा विन्दावासिनी कंसाकारलाई सांसद सिफारिस गरेको छ ।
ढाकाकुमार पार्टीले सांसद बनाउने बेला प्राइमरी इलेक्सनमा सर्वाधिक मत ल्याउने व्यक्ति हुन् । उनी रास्वपाको गण्डकी प्रदेश सभापति पनि हुन् । ढाकाकुमारमाथिको कारबाहीले गण्डकीमा रास्वपाको भोट स्वाट्टै घट्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।