नयाँदिल्ली — उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २५ वर्षे राजनीतिक यात्राको प्रशंसा गर्दै गुजरातदेखि भारतको राष्ट्रिय नेतृत्वसम्म उनले महत्वपूर्ण परिवर्तनको नेतृत्व गरेको बताएका छन्।
मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै योगीले सन् २००१ मा मोदीले गुजरातको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा राज्य भुज भूकम्पको गम्भीर प्रभावबाट गुज्रिरहेको स्मरण गरे।
उनका अनुसार त्यतिबेला गुजरातमा ठूलो क्षति भएको थियो र लामो समयसम्म परकम्पका कारण सर्वसाधारणमा त्रासको अवस्था थियो। त्यस्तो परिस्थितिमा मोदीले राज्यको नेतृत्व सम्हाल्दै पुनर्निर्माण र विकासलाई अघि बढाएको योगीको भनाइ छ।
योगीले मोदीको नेतृत्वमा गुजरातले विकासको नयाँ गति हासिल गरेको दाबी गर्दै राज्यलाई विकासको नमुनाका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण काम भएको बताए।
उनले मोदी प्रधानमन्त्री बनेपछि भारतको विकास र अन्तर्राष्ट्रिय प्रभाव विस्तारमा समेत उल्लेखनीय प्रगति भएको दाबी गरे। योगीका अनुसार मोदीको नेतृत्वमा भारतले विश्व मञ्चमा आफ्नो भूमिका थप विस्तार गर्दै गएको छ।
मोदीले सन् २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्रीका रूपमा सरकार प्रमुखको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनले गुजरातमा तीन कार्यकाल पूरा गरेपछि सन् २०१४ मा भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।
मोदीको २५ वर्षे राजनीतिक यात्राका अवसरमा भारत तथा विभिन्न देशका नेताहरूले समेत शुभकामना दिँदै उनको नेतृत्व, विकाससम्बन्धी प्राथमिकता र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको भूमिकाबारे प्रशंसा गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।