काठमाडौं - नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म अनिश्चिततामा राखेको निष्कर्ष निकालेको छ।
होल्डिङ सेन्टरबाट समेत हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने कांग्रेसले जनाएको छ।
यसैबीच, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।
त्यस्तै, कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी बक्यौता रकम अविलम्ब भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराएको छ। उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने कांग्रेसको माग छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।