काठमाडौं - आफूलाई भ्रष्टाचार विरोधी पार्टी भनेर जनताको सहानुभूति बटुलेर चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले मन्त्री बन्न दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको छ ।
सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्यमन्त्री साढे दुई करोड रुपैयाँ सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल माफिया दुर्गा प्रसाईसँग दुई करोड माग गरेका छन् ।
अडियोमा उनले भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो । मन्त्रीका लागि रवि सरलाई दुई करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ ।’
जवाफमा प्रसाईंले आफूले दुई करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् । दुई करोड रकम माग भएको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि पार्टीमा छलफलसमेत सुरु भइसकेको बुझिएको छ ।
उनी समानुपातिक सांसद हुन् । रास्वपाले पैसा बार्गेनिङ गरेको अभियोगमा श्रेष्ठलाई सांसदबाट निकाल्न सक्छ । तर उनले रवि लामिछानेको नामसमेत मुछेकाले चितवन २ को उपनिर्वाचन के हुने भन्ने चासो देखिएको छ ।
सांसदले नै बोलेको हुनाले रविको पनि यसमा कतै न कतै संलग्नता रहेको अनुमान गरिएको छ । त्यसैले सो अडियोको छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्नुपर्ने जनस्तरमा माग उठेको छ । रवि चितवन २ मा उम्मेदवार बनेका छन् ।
श्रेष्ठ यसअघि पनि विवादमा परेका व्यक्ति हुन् । उनले पोखराको एक सहकारीबाट करोडौं अनियमितता गरेको समाचार सार्वजनिक भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।