काठमाडौं - टेलिभिजनको पर्दामा अरुलाई नैतिकताको पाठ सिकाउँदै ठूलो स्वरमा चिच्याएर कार्यक्रम चलाउने रवि लामिछाने अहिले उपप्रधान तथा गृहमन्त्री बनेका छन् । वृद्ध नेताहरुलाई घुक्र्याएर गृह मन्त्रालय हात पारेका लामिछानेमाथि माघ ११ गते ठूलो खड्गो रहेको छ ।
नागरिकतासम्बन्धी विवादसहित अदालतमा प्रवेश भएका दुई रिट निवेदनउपर माघ ११ गते पुनः सुनुवाइ हुने भएको छ । कुनै पक्षले पनि पेसी हटाउन नपाउने सर्त राखी अग्राधिकारसहित हेरिने यो मुद्दाको सम्भवतः सोही दिन फैसला हुन पनि सक्छ ।
त्यसैले त्यसदिन कस्तो फैसला आउला भन्ने सर्वत्र चासो उत्पन्न भएको छ । विदेशी नागरिकताको विषय लामिछानेको व्यक्तिगत मात्र नभई सार्वजनिक सरोकारको विषय पनि भएको हुँदा सर्वोच्च अदालतले क्षेत्राधिकारको आधारमा यो विषयलाई अन्य निकायमा नपठाई गहन बहस पैरवी हुनुपर्ने ठानिएमा एमिकस क्युरी (अदालतको सहयोगी) पनि बोलाइन सक्छ । दोहोरो नागरिकतामा सजाय अवलम्बन गर्ने देशमा त्यहाँको नागरिकता लिने बेला अन्य देशको नागरिकता त्याग गर्नैपर्ने प्रावधान हुँदैन ।
एकल नागारिकता मात्र स्वीकार गर्ने देशमा बस्ने विदेशीले भने त्यही देशको नागरिकता लिन परे आफू आएको देशको नागरिकता छाडेको निस्सा लिनुपर्ने हुन्छ । यही प्रयोजनका लागि नागरिकता ऐन २०६३ को दफा १० (२) मा नागरिकता त्याग गर्नका लागि दिनुपर्ने निवेदनबारे व्यवस्था गरिएको छ ।
१० (२) मा भनिएको छ– ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिएबमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन ।’ नेपाल अहिलेसम्म एकल नागरिकतामा सजायको भएको देश हो ।
त्यसैले कसैले विदेशको नागरिकता लियो भने नागरिकता ऐन २०६३ को दफा १० (१) अनुसार त्यस्तो व्यक्तिको नेपाली नागरिकता स्वतः बदर हुने किटानी व्यवस्था छ । १० (१) अनुसार नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भनिएकाले यस्तो व्यवस्था नगरेको भए निवेदन दिएर जानकारी नगराएका र विदेशको नागरिकता लिएकाहरूलाई नेपाली नै भन्नुपर्ने हुन्थ्यो होला ।
तसर्थ विदेशको नागरिकता प्राप्त गरेपछि जो–कसैको पनि नेपाली नागरिकता स्वतः बदर हुने प्रष्ट छ । बदर भएको नागरिकता सदर गर्न दुई प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नैपर्ने हुन्छ । पहिलो, विदेशको नागरिकता त्याग भएको प्रमाण र दोस्रो त्यही आधारमा नागरिकता नियमावलीको नियम ११ (१) ले व्यवस्था गरेअनुसार अनुसूची ११ बमोजिम नेपाली नागरिकता पुनः कायम हुनका लागि दर्ता गरिपाऊँ भन्ने निवेदन ।
त्यसरी निवेदन प्राप्त भएपछि नागरिकता नियमावलीको नियम ११ (२) अनुसार सम्बन्धित अधिकारीले साविककै विवरणअनुसार नयाँ नागरिकता जारी गर्नुपर्ने हुन्छ । यसका लागि अनुसूची १२ अनुसारको सूचनासमेत दर्ता गर्नुपर्ने हुन्छ । जारी भन्ने शब्दको अर्थ स्वतः कायम हुने भन्ने होइन । अहिले लामिछानेका कानुन व्यवसायीले व्याख्या गर्न खोजेझैँ हुन त ‘विदेशको नागरिकता लिएकाहरूले त्यस्तो नागरिकता त्यागेमा स्वतः नेपाली नागरिक हुनेछ’ भनेर लेखिनुपर्ने थियो ।
अहिले दोहरो नागरिकता प्राप्त गर्न सकिने देशमा बसोबास गर्ने धेरैले त्यहाँको नागरिकता लिने र नेपालको पनि प्रयोग गर्ने प्रचलन भएको सबैलाई जानकारी नै छ । जुन कानुनी रूपमा सजायभागी हुन्छ ।
अहिलेको प्रसंगमा कुनै अमेरिकी नागरिकले त्यहाँको नागरिकता त्याग गर्न के–कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्नेतिर ध्यान दिन जरुरी छ । अमेरिकी राहदानी त्याग गर्नको लागि सर्वप्रथम अन्य देशको नागरिक बन्न सक्ने बलियो आधार पेश गर्दै नागरिकता त्याग फाराम डी एस– ४०७९ भर्नुपर्ने हुन्छ । त्यो फारामसहित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमा सशरीर उपस्थित हुनुपर्छ । यसका लागि २३५० अमेरिकी डलर शुल्क तिर्नुपर्ने हुन्छ ।
अर्को महत्वपूर्ण विषय भनेको त्यस्तो व्यक्तिले आफ्नो सम्पूर्ण आयकर फस्र्योट भएको प्रमाण प्राप्त गर्न फारम ८८५४ पनि भर्नुपर्ने हुन्छ । कर, तिर्न बाँकी रहेसम्म अन्य देशको नागरिक भए पनि अमेरिकी नागरिकतासमेत कायम रहन्छ ।
एकपटक सबै कागजातमा हस्ताक्षर गरिसकेपछि कन्सुलर अफिसरले त्यस्तो व्यक्तिलाई नागरिकता स्वेच्छापूर्वक त्याग गरेको हुँ भनी अमेरिकी झण्डाको अगाडि शपथ लिन आग्रह गरिन्छ । यो प्रक्रिया पूरा भएपछि उक्त निवेदन वासिंगटनस्थित डिपार्टमेन्ट अफ स्टेटमा पठाइन्छ ।
त्यसपछि सम्बन्धित व्यक्तिको सम्पूर्ण विवरणमाथि जाँच हुन्छ । सबै ठीक ठहरिएमा डी एस ४०८३ फारामअनुसारको प्रमाण पत्र (सीएलएन– सर्टिफिकेट अफ लस अफ नेश्नालिटी) सम्बन्धित व्यक्तिलाई दिइन्छ । यो सबै प्रक्रिया पूरा हुन निवेदकको अवस्थाअनुसार लामो समय लाग्न पनि सक्छ ।
रवि लामिछानेको प्रसंगमा उनले आफूसँग भएका सबै प्रमाण सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए । अमेरिकन नागरिकता छाडेको निस्सास्वरूप नेपालस्थित अमेरिकी दूतावासमा शुल्कसहित पेश गरेको निवेदन मात्रै सार्वजनिक भएको छ ।
आउँदो पेसीमा अदालतमा यी सारा कुरा देखाउन सकेनन् भने त्यो प्रमाणपत्र प्राप्त नभएसम्म उनी अमेरिकन नागरिक नै मानिनेछन् । त्यो अवस्थामा अहिले नेपालको नागरिकता प्राप्त गर्न कुनै प्रक्रिया पूरा गर्नु पर्दैन भन्ने गलत तर्कको हैसियत पनि शून्य हुनेछ ।
त्यसैले आफूविरुद्ध जस्तो पनि फैसला आउन सक्ने भयले लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता, उपनेता र अन्य पदबारे पार्टीमा आन्तरिक छलफलसमेत सुरु गरेको बताइन्छ । गृह मन्त्रालयको शक्तिको दुरुपयोग गर्दै उनले अदालतलाई आफू गलत नभएको पत्र पठाउने क्रम जारी राखेका छन् ।
तर, संविधानमा उल्लेख भएअनुसार अदालतले व्याख्या गरिदिएमा लामिछानेको पदमात्र जाँदैन, उनी कीर्तेमा कारबाहीमा पर्नसक्ने सम्भावनासमेत धेरै देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।