चितवन– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका स्वर्णिम वाग्लेमा राजनीतिक संस्कार नदेखिएको बताएका छन्। सोमबार चितवन–२ मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ता अघि भएको कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन्। वाग्लेले कांग्रेसलाई गाली गरेर पार्टी छोड्नु राजनीतिक संस्कार नभएको उनको भनाइ थियो। महामन्त्री शर्माले कांग्रेसले वाग्लेलाई यहाँसम्म पुग्न मञ्च दिएको बताए।
‘कांग्रेसले उहाँलाई मञ्च दियो। कविता भन्न जान्दछु भन्दा कविता भन्न दियो, गीत गाउन जान्दछु भन्दा गीत गाउन दियो। नाच्न पनि जान्दछु भन्दा पख्नु न पालो आउँछ बिस्तारै भन्यो। त्यसो भन्दा उहाँले कांग्रेस माथि नै प्रश्न गर्नुभयो। यसबाट थाहा हुन्छ उहाँ कति सुसंस्कृत हुनुहुँदो रहेछ,’ उनले भने।
शर्माले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवाको पनि आलोचना गर्न पाइने भए पनि कांग्रेसले हिजोअस्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको मान्छेले कांग्रेसमा अवसर पाइनँ भनेर आलोचना गर्न नपाइने बताए।
चितवन–२ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि शर्माले प्रश्न तेर्स्याए। ‘मंसिर ४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नो नट अगेन भन्ने उहाँले अब फेरि म प्रचण्डको सरकारमा सहभागी हुन्न भन्न सक्नुहुन्छ कि हुन्न?,’ शर्माले भने।
मंसिर ४ को चुनावमा चितवनले आवेगमा मतदान गरे पनि अब त्यसरी आवेगमा मतदान गर्न नहुने शर्माले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।