काठमाडौं- नेपाली काँग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले एक विशेष टेलिभिजन कार्यक्रमको प्रस्तोताको भुमिका निभाउने भएका छन् ।
सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइन लागेको कार्यक्रम 'ऐना'मा प्रस्तोताका रुपमा शर्मालाई देखिन सक्ने सम्भावना रहेको टीमले जानकारी दिएको छ ।
कार्यक्रम ‘ऐना’ विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुने र देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुकोअवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ताका आधारमा हुने बताइएको छ ।
विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको प्याकेजका रुपमा कार्यक्रम तयार हुने जानकारी दिईएको छ ।
विशेष रुपमा समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परावादी सोच आदिले किन मान्छेलाई सभ्य बन्न दिइरहेको छैन ? किन र के हो त्यसको जड ? यस्तै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम 'ऐना'ले गर्नेछ ।
कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमाथि अनुसन्धान र स्थलगत रिपोर्टिङका लागि देशभरि २८ जना अनुसन्धानकर्ता सक्रिय छन् ।
ऐनाको प्रोजेक्ट हेडमा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, अनुसन्धान प्रमुखमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरि, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाले भूमिका निर्वाह गर्नेछन् ।
दि होराइजन मल्टिमिडिया प्रालिले निमार्ण गरेको यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
२६ इपिासेड रहने कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट ०७७ साल कात्तिक पहिलो सातादेखि हरेक हप्ता एक घण्टा प्रसारण हुनेछ ।
कार्यक्रममा कान्तिपुर टेलिभिजनका स्टेसन प्रमुख दिनेश डीसीले ऐनालाई सफल बनाउन कान्तिपुर मिडिया ग्रुपले यथासम्भव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।