काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा का अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस फोबियाबाट कहिले मुक्त हुन सुझाव दिएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै ओली कांग्रेसमाथि खनिएका थिए। एक घन्टा भन्दा बढी समय बोलेका ओलीले अधिकांश समय कांग्रेसविरूद्ध खर्चिएका थिए।
सत्तारूढ दलका मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण सुनेर पनि नौलो राखेको उनले बताए।
‘सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण आज संसदमा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो,’ उनले ट्विटरमा लेखेका छन्, ‘पिजँडाको फलामे साङ्लो कसिलो बनाउन जारी प्रयत्नको पक्षमा सुनको बालाको कथाको आरोप भने कमजोर तर्क लाग्यो।’
कांग्रेस नेताहरूले विश्वासको मत दिएर ढोक्सा थापेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको ओलीले बताएका थिए।
‘ढोक्साको कुरा आएपछि उहाँहरूले हामीले सडकमा पुर्याएका प्रचण्डलाई प्रधानमन्त्री बनाएर तपाईंले पिजँडामा राख्नुभयो भनेर मलाई आँखा तर्नुभयो,’ उनले भने,‘सभामुख र उपसभामुखजस्ता साझा पदमा उहाँहरू सहमति गर्नुहुन्न। प्रधानमन्त्री र मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सहमतिको राजनीति भन्नुहुन्छ।’
शर्माले कांग्रेस यसअघि पनि प्रतिपक्षमा सहज रूपमा बसेको बताए।
‘प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि कांग्रेस प्रतिपक्षमै थियो। अत बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेका लागि ढोक्सा! श्रद्देय कमरेड केपी शर्मा ओली कांग्रेस फोबियाबाट तपाईं कहिले मुक्त हुने?,’ उनले ट्विटरमा लेखेका छन्, ‘विघटनको पक्षमा बोल्ने साहस भने आज राख्नुभएन। धन्यवाद। संसद कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाऔं। विचार र विकासको जिम्मेवार बहसको थलो बनाऔं, यो अपील सबैभन्दा बढी मेरा जिल्लावासी कमरेड श्रद्देय केपी शर्मा ओली।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।