काठमान्डौ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले “रोजगार मेला” कार्यक्रममार्फत ५१ हजारभन्दा बढी युवालाई सरकारी नियुक्तिपत्र वितरण गरेका छन्।
भिडियो कन्फ्रेन्समार्फत आयोजित कार्यक्रममा उनले नयाँ पुस्तालाई “विकसित भारतको मुख्य शक्ति” भएको बताएका हुन्। प्रधानमन्त्री मोदीले केन्द्र सरकार युवालाई सरकारी सेवामा जोड्न तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै पारदर्शी भर्ती प्रणालीलाई अझ सशक्त बनाइएको दाबी गरे।
उनले प्रविधिमैत्री भर्ती प्रक्रिया, डिजिटल सेवा विस्तार र स्टार्टअप वातावरणले आगामी वर्षहरूमा अझ धेरै रोजगारी सिर्जना हुने बताएका छन्। सरकारका अनुसार नियुक्ति पाउने युवाहरू विभिन्न मन्त्रालय तथा विभागमा आबद्ध हुनेछन्। रेल्वे, गृह, स्वास्थ्य, शिक्षा, डाक सेवा र वित्त मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा उनीहरूलाई जिम्मेवारी दिइने बताइएको छ।
मोदीले कार्यक्रममा बोल्दै भारत अहिले विश्वकै तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र बनेको दाबी गर्दै त्यसको प्रत्यक्ष लाभ युवाले पाउन थालेको बताए। उनले “युवाको क्षमता नै नयाँ भारतको आधार” भएको उल्लेख गर्दै निजी तथा सरकारी दुवै क्षेत्रमा रोजगारी विस्तारलाई प्राथमिकतामा राखिएको बताएका छन्।
भारत सरकारले सन् २०२२ देखि नियमित रूपमा “रोजगार मेला” सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत हालसम्म लाखौँ युवालाई सरकारी सेवामा नियुक्ति दिइसकिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।