कोरोना सङ्क्रमितको सङ्ख्यामा लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार ‘सेल्फ आइसोलेसन’को आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले १० हजार पाउन्ड (झण्डै १५ लाख नेपाली रूपैँया) सम्म जरिवाना गर्ने बताइएको छ।
बेलायतमा शनिबारमात्र करिब चार हजार ५०० नयाँ सङ्क्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो। पछिल्ला केही हप्ताको अवधिमा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ।
सेप्टेम्बर २८ तारिख यता कोरोना सङ्क्रमित व्यक्ति र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने व्यवस्था गरिएको हो। सरकारले कम आयस्रोत भएकालाई ५०० पाउण्डको आर्थिक सहयोग दिने पनि जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ। पटक पटक यो नियम उल्लङ्घन गर्नेका लागि यो जरिवाना १० हजार पाउन्ड सम्म पुर्याइएको हो। यसअघि सेल्फ आइसोलेसनलाई एक निर्देशनका रुपमा मात्रै लागू गरिएको थियो।
इङ्गल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भएकोले सबैले नियमको पालना गर्नुपर्ने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।