काठमाडौँ- प्रमुख पर्तिपक्षि दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेपछि पनि सभापति शेरबहादुर देउवाले विभाग गठनलगायतका कार्य विधानविपरीत जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट भएका छन्।
सभापति देउवाको उक्त कार्यको विरुद्धमा रणनीति बनाउन पौडेल पक्षका नेताहरुले छलफल गर्ने भएका छन्। सभापति देउवाको कार्यशैलीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दिउँसो २ बजे पौडेल पक्षका केन्द्रीय सदस्यहरुसँग जुम मिटिङ गर्न लागेका हुन्।
बैठकपछि दबाबका कार्यक्रम सार्वजनिक गरिने केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताएका छन्। असन्तुष्ट पक्षले यसअघि पनि दुईपटक जुम मिटिङ गरिसकेको छ।
‘हामीले पटक–पटक सभापतिलाई निर्णय फिर्ता लिन आग्रह गर्दै आयौं, तर उहाँले फिर्ता लिने भन्दा पनि झन विस्तार गर्दै जान थाल्नुभयो,’ घिमिरेले भने, ‘आजको बैठकबाट चरणबद्ध दबाबका कार्यक्रम सार्वजनिक गर्छौं।’
पौडेल पक्षले यसअघि विरोधका कार्यक्रम प्रस्ताव गर्न एक कार्यदल बनाएको थियो। कार्यदलले प्रस्ताव गरेका कार्यक्रमहरुलाई आजको बैठकले निर्णय गर्ने बताइएको छ।
कांग्रेसका ४७ वटा विभागमध्ये देउवाले अहिलेसम्म २० वटा विभागलाई पूर्णता दिएका छन्। विभागका आफू पक्षका नेताकार्यकर्तालाई नसमेटिएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।
आजको बैठकले चरणबद्ध दबाब दिने कार्यक्रम अन्तर्गत सभापतिलाई अल्टिमेटम दिने, देशभर अन्तक्रिया, धर्ना, पदाधिकारीबाट राजीनामा, आफूनिकटका भ्रातृसंस्थाका पदाधिकारी फिर्ता बोलाउने लगायतका कार्यक्रम तय गर्ने घिमिरेले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।