काठमाडौं– नेपाली कांग्रेसमा १४औं महाधिवेशनमा सभापतिमा लड्ने प्रकाशमान सिंहको घोषणाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई झस्काएको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरू नेतृत्व हत्याउने अभियानमा लागेका छन् । यही क्रममा सिंहले सभापतिमा लड्ने घोषणा गरेका छन्। उनले देशभर घुमेर आफ्नो पक्षमा माहोल बनाइरहेका उनले कोरोना महामारीको प्रतिकूल अवस्थामा पनि भित्रभित्रै तयारी तीव्र पारिरहेका छन् ।
कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वको विषयलाई लिएर संस्थापन र इतरपक्षबीचमा ध्रुवीकरण तीव्र बनिरहेको छ । आफ्नै नेतृत्वलाई १४ औं महाधिवेशनपछि पनि निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति शेरबहादुर देउवा अघि बढेका छन् ।
उनलाई चुनौती दिन भित्रभित्रै उपसभापति विमलेन्द्र निधि अघि बढ्न खोजे पनि राम्ररी खुल्न सकेका छैनन् । यसका लागि निधिले प्रकाशमान सिंह, डा.शशांक कोइरालासँग पनि पटक पटक छलफल गरिसकेको बुझिएको छ । यदि वर्तमान सभापति देउवा नै दोहोरिन खोजे भने के गर्ने भन्ने दोधारमा निधि परेका छन् ।
संस्थापन इतरपक्षमा नेतृत्वका लागि होडबाजी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सम्पर्क कार्यालय खोलेरै आफ्नो गतिविधि अघि बढाइरहेका छन् । उनलाई गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीलगायतको दह्रो साथ छ । तैपनि उनले आफैं नेतृत्वमा अघि सर्ने वा अरू कसैलाई सघाउने उनले निर्णय लिइसकेका छैनन् ।
संस्थापन समूहमा अहिलेसम्म देउवा र निधि सभापतिका उम्मेदवार देखिए पनि इतरइतर पक्षमा नेतृत्वका आकांक्षीहरु आधा दर्जन देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, अर्जुननरसिंह केसी पनि सभापतिका दाबेदार हुन् । यो समूहबाट एउटै उम्मेदवार आउने बताइए पनि प्रकाशमान सिंहले भने आफ्नो भूमिका धेरै अगाडि बढाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।