काठमाडौं-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताएका छन् ।
काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले विपी सङ्ग्राहलय सुन्दरीजलमा आज आयोजना गरेको ‘वृक्षारोपण कार्यक्रम’मा उहाँले काँग्रेसले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले पार्टीको १४ औँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन काँग्रेसको अहिलेको मुख्य आवश्यकता भएको बताए । “काँग्रेसका कुनै नेताको पछाडि नलाग्नुहोस्, विचार, सिद्धान्त र आदर्शको पछाडि लाग्नुहोस्,”–कार्यकर्तासँग उनले भने । कार्यकर्ताले नेताको मुख्याङ्कन गर्न सक्नुपर्ने उनको भनाई छ ।
नेता पौडेलले विपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रको लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गरे ।
मुलुकको कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासका पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले काँग्रेसले विपीको आदर्श र सिद्धान्तलाई नभुलेको प्रष्ट पारे ।

काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सबै मिलेर काँग्रेसभित्रको विवाद अन्त्य गर्नुपर्ने बताए। पार्टीभित्रको समस्या समाधानका लागि नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने उनको भनाई थियो । उनले वर्तमान सरकार झुटको खेतीमा लागेको बताए।
पूर्व परराष्ट्रमन्त्री डा महतले विदेशी ऋण स्वीकृत गर्ने सरकारले विदेशी सहयोग रकम लिन नमानेर ठूलो गल्ती गरेको उल्लेख गरे।
काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले विपीको सपना काँग्रेसले मात्र पुरा गर्न सक्ने बताए । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले वर्तमान सरकारले जनताको अधिकार खोस्न खोजेको बताए उहाँले काँग्रेसभित्र विपी कोइरालाको सिद्धान्त आजपनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।
नेविसङ्घका महामन्त्री दिपक भट्टराईले नेविसङ्घ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन माग गरे । उनले विपी कोइराला महान् राष्ट्रवादी नेता भएको उल्लेख गरे।
विपी कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा ३८ विरुवा वृक्षारोपण गरिएको थियो । विस १९७१ भदौ २४ मा जन्मनुभएका विपी कोइरालाको विस २०३९ साउन ६ गते निधन भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।