काठमाडौं - बडादशैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बस्दै आएका मानिसहरू दशैँ मनाउन गाउँ फर्किन थालेपछि प्रमुख नाकाहरूमा यात्रु तथा सार्वजनिक सवारीसाधनको चहलपहल बढेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रुले उपत्यका छाडेका छन्।
नाकागत विवरणअनुसार सबैभन्दा बढी नागढुङ्गा नाकाबाट २७ हजार ६४९ जना बाहिरिएका छन्। त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङबाट ५ हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोटबाट ५६ जना यात्रुले उपत्यका छाडेका छन्।
दशैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढ्दै जाँदा सडकको दयनीय अवस्थाले भने यात्रालाई थप चुनौतीपूर्ण बनाएको छ। देशका विभिन्न भागमा राष्ट्रिय राजमार्ग बिग्रिएका कारण यातायात सञ्चालन तथा यात्रु व्यवस्थापनमा समस्या देखिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार असोज २३ गते अग्रिम टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएको थियो। सडक अवरुद्ध तथा प्रभावित हुँदा सवारीसाधन समयमै काठमाडौं आइपुग्न नसकेपछि यात्रु व्यवस्थापनमा समस्या भएको उनले बताएका छन्।
सडकको खराब अवस्था र यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै महासङ्घले यात्रुलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न आग्रह गरेको छ। त्यस्तै, आधिकारिक भाडादरभन्दा बढी रकम नतिर्न र यात्रा गर्नुअघि सवारीसाधनको प्राविधिक अवस्था राम्रोसँग जाँच गर्न पनि अनुरोध गरिएको छ।
दशैँमा घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सडक सुरक्षा, सहज यातायात सेवा र यात्रु व्यवस्थापनलाई प्रभावकारी बनाउनु सम्बन्धित निकायका लागि महत्त्वपूर्ण चुनौती बनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।