काठमाडौं – मौसममा आएको परिवर्तनसँगै देशभर प्रदुषणको मात्रा बढेको पाइएको छ ।
मंगलवार काठमाडौं उपत्यका र नेपालगञ्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउनेसम्मको स्तरमा पुगेको छ ।
मंगलवार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्याधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर (पीएम) २.५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो ।
त्यसभन्दा कम वायु रहेको शहरका रूपमा नेपालगञ्ज रहेको वातावरण विभागले जनाएको छ । विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २.५को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।
विभागले दिएको तथ्यांकअनुसार ‘रेड जोन’मा रहेका शहरहरूमा विराटनगर, जनकपुर, काठमाडौंको शंखपार्क, हेटांैडा, कञ्चनपुरको महेन्द्रनगर र चितवनको सौराहा छन् । मंगलवार रातिको पीएम २.५ को मात्रा अनुसार विराटनगरमा १५५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, जनकपुरको १४८ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर, काठमाडौंको शंखपार्कको १२८ दशमलव ६९ माइक्रोग्राम प्रतिघनमिटर, हेटौंडाको ११५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, कञ्चनपुर, महेन्द्रनगरको ८६ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर र चितवन, सौराहको ८१ माइक्रोग्राम प्रतिघनमिटर गुणस्तर मापन गरिएको छ ।
धनकुटार र पोखरामा दीर्घकालीन रोग भएका बिरामीलाई असर गर्ने किसिमको वायुको गुणस्तर मापन गरिएको वातावरण विभागले जनाएको छ । सरकारले तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले पीएम २.५ को मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भए मात्रै त्यसलाई वायु प्रदुषण भएको मानिन्छ ।
सामान्यतया पीएम २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ ।
हुस्सु लागेजस्तो काठमाडौं धुम्म भई भिजिबिलिटी घट्यो । २ दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन । तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदुषण पनि ह्वात्तै बढेको छ ।
सोमवार त काठमाडौंको वायु प्रदुषण उच्च खतराको तहमा पुगेको थियो, यो क्रम मंगलवार पनि जारी रहेको थियो । वातावरण विभागले देशका विभिन्न ठाउँमा हावाको गुणस्तर नाप्न थालेको ४ वर्ष भयो ।
‘हिउँदमा यस्तो त पहिला पनि हुन्थ्यो तर यसपालि त धेरै नै भयो,’ विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने, ‘अहिले त यो खतराको लेभलभन्दा निकै माथि छ ।’
ठूला उद्योग नभएको काठमाडौंमा यति ठूलो प्रदुषण हुनुमा उपत्यकाको बनोट नै मुख्य कारण भएको मौसमविद् डा. ऋषिराम शर्मा बताउँछन् । ‘पश्चिमी वायु आएपछि इन्भर्सन लेयर बनेर यस्तो भएको हो,’ शर्माले भने, ‘इन्भर्सन लेयर भनेको जमिनको सतहभन्दा माथिको वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाउनु हो ।’ उनका अनुसार यो वर्ष पश्चिमी वायुको प्रणालीमा धेरै पानीको मात्रा थिएन । त्यही भएर बादल लागे पनि काठमाडौं र पूर्वी क्षेत्रमा ठूलो वर्षा हुन सकेन ।
‘जमिन छिटो सेलाउँछ र छिटो तात्छ तर चिसो भएको वायुमण्डलको तापक्रम तात्न समय लाग्छ,’ उनले भने, ‘राति चिसो भएको जमिनको सतह बिहान भएपछि तात्दै गयो तर माथिको हावा त्यसरी नतातेकाले काठमाडौंको हावा बाहिर जान पाएन ।’
कचौंरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने शर्माले बताए । ‘वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन । त्यसैले पनि यो यहीँ घुमिरहन्छ,’ उनले भने । रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी, मोटर र इँटाभट्टाको धुँवाधुलो मिसिएकाले प्रदुषण ह्वात्तै बढेको शर्माले बताए ।
मौसम पूर्वानुमान महाशाखाले बुधवारसम्म पश्चिमी वायुको प्रभाव रहने बताएको छ । काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्किन अनुरोध गरेको छ । वातावरण विभागका उपमहानिर्देशक जोशीले आमनागरिकलाई अत्यावश्यक नपरी बाहिर ननिस्किन, बूढाबूढी र बालबच्चाको विशेष ख्याल गर्न र सकभर कम गाडी चलाउन अनुरोध गरिएको बताए । ‘सबभन्दा ठूलो कुरा त आगो बाल्नुभएन । त्यसमा पनि फोहोर जलाउँदा हावामा प्रदुषणको मात्रा ह्वात्तै बढ्छ,’ उनले भने, ‘१–२ दिन यसो गरे ठीक हुन्छ कि जस्तो लागेको छ । त्यसपछि पनि यस्तै अवस्था रहे थप सतर्कता अपनाउनुपर्छ ।’
वातावरणविद् भूषण तुलाधरले वायु प्रदुषण बढ्नुको कारण मौसम अनुकूलता, काठमाडौंभित्र प्रदुषणको स्रोत थपिनु र काठमाडौंको पश्चिमी भागमा डढेलो लाग्नु रहेको बताए । ‘मौसमका कारण काठमाडौंको प्रदुषणलाई बाहिर जान दिएन । यहीँ गुम्साएर राख्दा प्रदुषण बढेको देखिन्छ,’ उनले भने । उनले जाडोमा हरेक वर्ष वायु प्रदुषण बढ्ने भन्दै सचेत र सजग रहन आग्रह गरेका छन् ।
‘१० महिनासम्म लकडाउन हुँदा स्वच्छ हावा थियो,’ उनले भने, ‘अकस्मात प्रदुषण बढेको महसुस भएको हुनसक्छ । यही तहको प्रदुषण पहिले पनि नभएको होइन ।’ उनले वातावरण प्रदुषण रोकथामका लागि बनाएको कार्ययोजना कार्यान्वयन गर्नुपर्ने बताए । उनका अनुसार काठमाडौंमा बढ्दो शहरीकरण, पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुँवा र आगलागीले प्रदुषण अत्यधिक बढेको छ ।
संक्रमण रोग विशेषज्ञ प्राडा. जीवन शेरचनले वातावरण प्रदुषणले दीर्घरोगी, बालबालिका र वृद्ध प्रभावित हुने बताए । ‘वातावरणीय दृष्टिकोणले मर्निङ वाक र इभिनिङ वाक गर्नु अस्वस्थकर मानिन्छ । दूषित वातावरण बढ्दै गएकाले मास्कको समुचित प्रयोग गर्नुपर्छ,’ उनले भने ।
दूषित वातावरण श्वासनलीमा जान नदिन आवतजावत गर्दा मास्कको प्रयोग गर्नुपर्ने बताए । उनले प्रदुषण बढ्दै गएको भन्दै सकेसम्म ज्येष्ठ नागरिक, दीर्घरोगी, र बालबालिकालाई घरमै बस्न आग्रह गरे ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बमले वातावरण प्रदुषणले शरीरका सम्पूर्ण प्रणालीमा असर गर्ने बताए । ‘आँखा पोल्ने, छालामा क्यान्सर, छाला चिलाउने, श्वासप्रश्वास, फोक्सोका नलीहरूमा एलर्जी गराउँछ । दीर्घखालको दम गराउँछ,’ उनले भने ।
प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्न चिकित्सकले आग्रह गरेका छन् । फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेले वायु प्रदुषणले दीर्घ रोगको जोखिम निम्त्याउने बताएकी छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।