काठमाडौं- उम्मेदवार छनोटदेखि आर्थिक अपचलनसम्मका आरोप सार्वजनिक गर्दै चुनावकै मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरू धमाधम पार्टी परित्याग गरिरहेका छन्। परित्याग गर्ने अधिकांश नेता पुनः नेपाली कांग्रेस प्रवेश गरिरहेका छन्।
चुनाव नजिकिँदै जाँदा रास्वपाबाट बाहिरिने क्रम बाक्लिएको हो। गएको माघ २९ गते डा. प्रणयशमशेर राणाले पार्टी परित्याग गरेपछि सुरु भएको असन्तुष्टिको शृङ्खला क्रमशः विस्तार हुँदै गएको देखिन्छ। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा प्रतिस्पर्धा गर्दै रास्वपालाई तेस्रो स्थानमा उभ्याएका राणाले उम्मेदवार चयन प्रक्रियामा आन्तरिक ‘प्राइमरी’ चुनावमा चलखेल र आर्थिक अपचलन भएको गम्भीर आरोप लगाएका छन्।
राणाले ‘बेथितिका मूकदर्शक भएर बस्न विवेक र इमानले नमानेको’ उल्लेख गर्दै पार्टी छाडेको बताएका छन्। “सुरुमा पार्टीको नारा सुशासन र जवाफदेहिता थियो। बेतिथिको अन्त्य र थितिको सुरुवात गर्नुपर्ने न्यारेटिभ ठीक उल्टो बनेको छ,” उनले बताएका छन्। प्राइमरी चुनावका नाममा २५ हजार रुपैयाँ शुल्क उठाइए पनि विशेष परिस्थिति भन्दै प्रक्रिया मिचेर उम्मेदवार चयन गरिएको उनको आरोप छ। प्रवासमा १० प्रतिशत प्रतिनिधित्व दिने भनिए पनि अन्तिम बन्दसूचीमा कोही नसमेटिएको भन्दै उनले यसलाई ‘स्क्यामजस्तै’ भएको टिप्पणी गरेका छन्।
राणाले पार्टीले अधिवेशनसमेत गर्न नसकेको, आफूअनुकूल संगठन बनाउने र असहमति राख्नेलाई पाखा लगाउने प्रवृत्ति बढेको दाबी गरेका छन्। उनी पार्टी छाडेको दुई साताभित्रै कांग्रेस प्रवेश गरिसकेका छन्।
नुवाकोटदेखि नवलपरासीसम्म असन्तुष्टि
रास्वपा नुवाकोटका नेता अशोककुमार थापाले पनि फागुन ९ गते पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। संगठन निर्माणमा खटिएका कार्यकर्तालाई पाखा लगाइएको उनको आरोप छ।
त्यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरी र बर्दघाट नगरपालिका–१३ का सभापति जीतबहादुर हरिजनले पनि पार्टी छाडेका छन्। नवलपरासी सुस्ता पश्चिम–१ मा विक्रम खनाललाई उम्मेदवार बनाइएपछि आन्तरिक असन्तुष्टि चुलिएको बताइएको छ। सोही क्षेत्रमा अघिल्लो निर्वाचनमा १२ हजार ४९९ मत ल्याएका महेन्द्र सेन (ठकुरी) उम्मेदवारका आकांक्षी थिए।
धनगढी, बारा र वाग्मतीमा धक्का
धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति इश्वरी बिष्टले पनि मतदानको पूर्वसन्ध्यामा पार्टीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेका छन्। बारा जिल्लाका संगठन विभाग प्रमुख पवन चौधरीले फागुन ८ गते पार्टी छाडेका हुन्।
वाग्मती प्रदेश उपसभापति दिनेश हुमागाईंले नेतृत्वमा नैतिक विचलन आएको, तल्लो तहका कार्यकर्तामाथि ‘दास व्यवहार’ गरिएको तथा सदस्यता र उम्मेदवार आवेदन शुल्कको हिसाब सार्वजनिक नगरिएको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने घोषणा गरेका छन्।
मधेसमा पनि असर
मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले फागुन ६ गते पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकी छन्। उनलाई कांग्रेस सभापति गगन थापा ले स्वागत गरेका थिए। शर्माले पूर्ववर्ती पार्टीमा ‘दागैदाग भएका बिगबिगी’ देखिएको टिप्पणी गरेकी छन्।
वित्त विभाग सदस्यको पनि राजीनामा
रास्वपाको केन्द्रीय वित्त विभागका सदस्य दिनेश आचार्यले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। पार्टीभित्र पारदर्शिता र जवाफदेहिताको अभाव भएको उनको निष्कर्ष छ। उनले सभापति रवि लामिछाने को भाषणशैलीमाथि समेत प्रश्न उठाउँदै आक्रोश र प्रतिशोधप्रधान अभिव्यक्तिले पार्टीको वैचारिक धरातल कमजोर बनाएको आरोप लगाएका छन्।
मकवानपुरका सभापति कांग्रेसमा
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पनि पार्टी परित्याग गरी पुनः कांग्रेस प्रवेश गरेका छन्। पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा पार्टी प्रवेश गराएका हुन्। पराजुलीले सीमित व्यक्तिको प्रभाव, चाकरीवाद र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको भन्दै पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाएका छन्। यसअघि सुमना श्रेष्ठ र सन्तोष परियारलगायत नेताले पनि असन्तुष्टि जनाउँदै पार्टी छाडिसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।