काठमाडौं । नेपाली कांग्रेस आन्तरिक सुधार, संगठनात्मक पुनर्संरचना र नेतृत्वीय पारदर्शिताको बहसमा प्रवेश गरिरहँदा पार्टीभित्रै केही नेताहरूको भूमिकालाई लिएर बढ्दो असन्तुष्टि देखिएको छ ।
कांग्रेसलाई संस्थागत, सैद्धान्तिक र लोकतान्त्रिक रूपमा बलियो बनाउनुको साटो गुटीय स्वार्थ, व्यक्तिगत आचरण तथा संगठनात्मक जिम्मेवारीप्रति उदासिनताले पार्टीभित्र ‘भाइरस’ झैँ फैलिएको काम–व्यवहारले पार्टीभित्रै निरन्तर विवाद उत्पादन गरेको कार्यकर्ताहरूको टिप्पणी छ ।
यी विवादमा प्रायः चर्चामा पर्ने नामहरू– जितजंग बस्नेत, कुन्दनराज काफ्ले, दुर्लभ थापा, किरण पौडेल र गुरु बराल । अहिले कांग्रेसभित्र नेतृत्व नै कमजोर पार्ने र भावि नेतृत्वलाई बद्नाम गराउने समूहको रूपमा उनीहरुलाई हेरिएको छ ।
तरुणदलका पूर्व अध्यक्ष जितजंग बस्नेत संगठनात्मक क्षमताको अभावका कारण लामो समय आलोचनाको केन्द्रमा रहे । उनी नेतृत्वमा रहेकै समयमा तरुणदल महाधिवेशन गराउन नसक्नु, संगठनलाई निष्क्रिय बनाइदिनु र अन्ततः विभाजन तथा अविश्वासको वातावरण सिर्जना हुनु केही केन्द्रीय सदस्यले उठाउने मुख्य विषय हुन् । अहिले राष्ट्रियसभा सदस्य रहेका बस्नेतले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासँग निकटता राखेको भन्दै पार्टीभित्र विशेष संरक्षण पाएको आरोप लाग्दै आएको छ । बस्नेतमाथि आरोप लगाउनेहरु भन्छन्- जेनजेड आन्दोलनको समयमा पार्टी सभापति शेरबहादुर देउवा र आरजु राणामाथि आक्रमण हुँदा समेत उनी पक्षगत रूपमा मौन बसे ।
तर पछिल्लो समय भने उनी देउवा–राणा समूहमै देखिने गरे पनि पार्टी महामन्त्री गगन थापाविरुद्ध निरन्तर टिप्पणी गरेर संगठनलाई अस्थिर बनाइरहेका छन् । बस्नेतले यी सबै आरोप अस्वीकार गर्दै आएका छन्, तर पार्टीको युवा संरचनामा आएको दरारले उनलाई आलोचनाबाट बचाउन सकेको छैन ।
यस्तै, गगन थापासँग नजिक ठानिने कुन्दनराज काफ्ले पछिल्ला वर्षहरूमा प्रदेश राजनतिमा उदाएका नाममध्ये एक हुन् । कृष्णप्रसाद सिटौलाको सिफारिसमा पार्टी केन्द्रीय सदस्य बनेका काफ्ले दोलखाबाट प्रदेशसभा सदस्य निर्वाचित भए र पछि बागमती प्रदेशका अर्थमन्त्रीसमेत बने ।
तर अर्थमन्त्रीको भूमिकामा रहेकै समयमा बजेट विनियोजनमा अनियमितता गरेको, योजनामा राजनीतिक हितका आधारमा रकम तोकेको र ‘बजेट बिक्री’ गरेको आलोचना विभिन्न राजनीतिक वृत्तमा उठ्दै आएको थियो । काफ्ले आफूविरुद्धका यस्ता आरोपलाई निराधार भन्छन्, तर उनले संगठनात्मक अनुशासनभन्दा व्यक्तिगत शक्ति विस्तारमा बढी केन्द्रित भएको देखिन्छन् ।
आफ्नो स्वर चर्को पार्न महामन्त्री थापाको विरोध गर्ने गरेका छन् । विगतमा परीक्षामा नक्कली परीक्षार्थी राखेको अभियोग तथा शैक्षिक पात्रता विवाद पनि उनीमाथि पटक–पटक उठाइने विषय बनेको छ, जसले उनको विश्वसनीयता कमजोर भएको कार्यकर्ताहरू बताउँछन् ।
भक्तपुरका सांसद दुर्लभ थापा पनि पार्टीभित्र उठ्ने असन्तुष्टिको केन्द्रमा पर्छन् । शेरबहादुर देउवाको पक्षबाट टिकट पाएका थापामाथि आफ्नो निर्वाचन क्षेत्रका जनतासँग गरेका अधिकांश विकास–वाचा पूरा नगरेको भन्दै निरन्तर आलोचना हुँदै आएको छ । थापाविरुद्ध क्षेत्रमै विरोध हुँदै आएको कार्यकर्ताहरू बताउँछन्, तर त्यसलाई साम्य पार्ने क्रममा उनी पनि पार्टी महामन्त्रीमाथि आवाज उठाउने, नेतृत्वलाई दोष दिने र आन्तरिक मतभेद बढी चर्काउने काममा लागिरहने गरेको अभियोग छ ।
स्थानीयस्तरमा जनताले उठाएका विकासका मागभन्दा उनी गुटगत राजनीतिमा बढी सक्रिय देखिनुले पार्टीप्रति उनको प्रतिबद्धतामा प्रश्न उठेको छ । जसले भक्तपुरका कांग्रेस कार्यकर्ताहरु निराश बनेका छन् ।
यस्तै, बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका किरण पौडेल पनि कांग्रेसभित्र विवादकै पात्र बनेका छन् । पार्टी विधानमै तल्लो तहमा पराजित भएको सदस्यलाई माथिल्लो तहमा मनोनयन गर्न नपाइने प्रष्ट व्यवस्था हुँदाहुँदै पनि पौडेललाई मनोनयन गरिएको विषयले पार्टीभित्र भद्र–आचरण, प्रक्रियागत पारदर्शिता र आन्तरिक लोकतन्त्र एकैसाथ कमजोर गरिएको नेताहरूको तर्क छ।
पौडेल पनि हाल गगन थापाविरुद्ध बढ्दो आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्, जसले गुटीय वर्चस्व स्थापनाका लागि पदको प्रयोग भएको हो भन्ने आशंका थप बलियो बनाएको छ ।
उता, गुरु बराल— सभापति देउवाको नजिक मानिने युवा अनुहार हुन् । पार्टी केन्द्रीय सदस्य बनेपछिसमेत गुटीय राजनीति नछोडेको भन्दै निरन्तर विवादमा रहन्छन् ।
कार्यवाहक सभापतिलाई ‘भगवान’ को स्तरमा राखेर अन्य नेताहरूलाई ‘दानव’ सरह चित्रण गर्ने उनीको शैलीले कांग्रेसजस्तो लोकतान्त्रिक दलमा असहिष्णुता बढाएको कांग्रेस वृत्तमा टिप्पणी हुने गरेको छ ।
बरालले महामन्त्री गगन थापामाथि “पार्टीलाई बन्धक बनाएको” आरोप लगाउँदै सार्वजनिक रुपमा आक्रमक र विभाजनकारी अभिव्यक्ति दिँदै आएकोप्रति असन्तोष बढेको छ ।
उनीहरुका गतिविधिले संगठनमा विवाद, गुटीय चरित्र र अविश्वास बढाएको छ । कांग्रेस सुधारको एजेन्डालाई कमजोर बनाइरहेका उनीहरुको व्यवहारलाई कार्यकर्ताहरू ले‘भाइरस’ का रूपमा चित्रण गरेका छन् ।
जसले पार्टीलाई भित्रैबाट जर्जर पार्दै, नेतृत्वीय समन्वय खल्बल्याउँदै र संगठनात्मक पुनर्संरचना प्रक्रियालाई नै अवरुद्ध गरिरहेका छन् ।
राजनीतिक विश्लेषकहरू भन्छन्- कांग्रेसले यदि यी विवादग्रस्त प्रवृत्तिहरूको नियन्त्रण गर्न सकेन भने पार्टीभित्र सुधार होइन, गुटीय ध्रुवीकरण अझ गहिरिनेछ । पार्टी विधान, आचरण र लोकतान्त्रिक मूल्यले निर्देशित संगठन बनाउने लक्ष्य प्राप्त गर्न सबैभन्दा पहिला यिनै ‘भाइरस’ हटाउनुपर्ने आवश्यकतामाथि उनीहरू जोड छ ।
कांग्रेसले अब जिम्मेवारी, पारदर्शिता र आचरणलाई कठोर रूपमा कार्यान्वयन नगर्ने हो भने, संगठन पुनर्जीवित होइन, अझै कमजोर हुँदै जाने खतरा देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।