काठमाडौं - कोशी प्रदेशको बाछिटा चाँडै अन्य प्रदेशमा पनि देखिने भएको छ । सबैभन्दा पहिले बागमती प्रदेशमा कोशीकै जस्तो कांग्रेसमा विद्रोह गरेर नयाँ सरकार गठन गर्ने प्रयास भइरहेको कांग्रेस महामन्त्री गगन थापाले खुलासा गरेका छन् ।
दशैं, तिहार तथा छठ पर्वको अवसरमा नेपाल प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले चाँडै बागमती प्रदेशमा पनि कोशीकै जस्तो नयाँ सरकार गठनको प्रयास भइरहेको रहस्योदघाटन गरेका हुन् ।
माओवादीका शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढाल्न कांग्रेसका प्रदेश सभा सदस्यहरू लागिसकेका उनले जानकारी दिए । बाग्मतीका कांग्रेस सबैभन्दा ठूलो दल भएकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने अभियानमा प्रदेश सभा सदस्यहरू लागिसकेको उनको भनाइ छ ।
आफूलाई भेट्न चारजना प्रदेश सदस्य आएको बताउँदै उनीहरूले माओवादीको नेतृत्व मान्न नसकिने कुरा स्पष्ट शब्दमा राखेको थापाले बताए । ‘हामी सबैभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौँ, हाम्रो केही दिनभित्र १२÷१३ जना पुगेका छन्, सरकार बदल्दिऔँ भन्दै हुनुहुन्थ्यो’, थापाले भने ।
आफूलाई सरकाका विषयमा थाहा नभएकाले सभापतिलाई भेट्न भने पनि अब यो अन्यौलता धेरै दिन नरहेका उनले प्रस्ट पारे । बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेतृत्व क्षमता देखाउन नसकेको भन्दै २० जना सांसदले विद्रोहको तयारी गरेका छन् । केही दिनभित्रै यसले आकार ग्रहण गर्ने बताइएको छ ।
इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी राजनीतिक कोर्ष अघि बढेको बताइन्छ । थापाले निर्वाचनभन्दा अगाडि गरिने गठबन्धन सैद्धान्तिक हिसाबले गलत भएको बताए ।
‘निर्वाचनभन्दा अगाडिको गठबन्धन रणनीतिको हिसाबले फाइदा होला, तर सैद्धान्तिक हिसाबले गलत, जुन कुरा सैद्धान्तिक हिसाबले गलत छ, त्यसलाई कुनै रणनीति बनाएर देशको सेवा गर्न मिल्दैन’, थापाले भने ।
थापाले सरकारको निर्णयको पनि आलोचना गर्नुभयो । कांग्रेसले फागुन १ गतलाई जनयुद्ध दिवसको रूपमा मान्न नसक्ने उनले स्पष्ट पारे ।
‘सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौँ यसलाई मान्छौँ भनेर स्वीकार गर्न सक्छ र ? सक्दैन, हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौँ’, उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।