काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारदेखि बस्दैछ । पार्टीको वार्षिक क्यालेन्डरअनुसार दुई दुई महिनामा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आजको बैठकमा सरकारको समीक्षादेखि मंसिरमा हुने महासमिति बैठकका एजेन्डाबारे छलफल हुने भएको छ । साथै, पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका कामको समेत समीक्षा हुनेछ ।
सरकारमा गएका मन्त्रीहरूले अपेक्षा गरिएअनुसार काम गर्न नसकेको नेताहरूको भनाइ छ । नेता शेखर कोइराला–गगन थापा समूहले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै आफ्नै पार्टीबाट बनेका मन्त्रीको समेत खरो आलोचना गर्ने रणनीति बनाएको छ । कांग्रेसबाट आठजना मन्त्री सरकारमा छन् ।
तर एकजनाले पनि सन्तोषजनक काम गर्न नसकेको भन्दै जनगुनासो बढेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा गएको छ ।
अर्थ, परराष्ट्र, कानुन, स्वास्थ्य, सहरी विकास, उद्योग, युवा तथा खेलकुद मन्त्रालय पाए पनि एकजना मन्त्रीले पनि जनअपेक्षाअनुसार काम गर्न सकेको देखिएको छैन ।
सरकारमा माओवादीका मन्त्रीहरू हाबी भएका छन् । त्यसैले काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउनेसमेत तयारी कांग्रेसमा चलेको छ ।
कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टीको विधानविपरीत एकलौटी चल्न खोजेको भन्दै आलोचना गर्ने तयारी गरेको छ । बैठकमा पार्टी सुढृढीकरण अभियानका क्रममा जिल्ला खटिएका प्रतिनिधिले तयार पारेको सुझाव पेस गर्नेछन् ।
मंसिर १३ गतेदेखि काठमाडौंमा हुने महासमिति बैठकमा छलफल हुने एजेन्डाबारे पनि छलफल हुनेछ । बुधबार नेता कोइराला र उपसभापति धनराज गुरुङले सभापति देउवालाई भेटर पार्टीमा एकलौटी अघि नबढ्न चेतावनी दिएका थिए ।
पार्टीले पारित गरेको क्यालेन्डरअनुसार काम गर्न नसकेको भन्दै देउवालाई कोइराला समूहले सामूहिक निर्णयअनुसार चल्न दबाब दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।