काठमाडौँ- वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा. गौरीशंकरलाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मान गरिएको छ।
डा. दासको जन्म शताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिकाबीच उक्त उपाधि घोषणा गरिएको हो।
सिरहा जिल्लामा जन्मिएर २००९ सालदेखि चिकित्सा पेशामा संलग्न डा. लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दैछन्।
सोही समारोहमा ‘डा.गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ ४०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जानकारी गराइयो।
शनिबार चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै प्रमुख अतिथि नेपालि कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. गौरीशंकर लाल दासको सामाजिक योगदानको चर्चा जति नै गरे पनि कम हुने बताए। सांसद थापाले भने, “राज्यले गरे पनि नगरे पनि, यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैँमा प्रभावशाली छ । सादा जीवन, उच्च विचार राख्नुहुने डाक्टर साहेब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ। उहाँको जन्मशताब्दी वर्ष वर्षभरि उत्साहका साथ हामी सबैले मनाऔँ।”
थापाले राज्यस्तरबाट पनि ‘दिव्य शताब्दी पुरुष’ घोषणाका लागि आफूले सक्दो सहयोग गर्ने बताए। दिव्य शताब्दी पुरुषबाट घोषित डा. लाल दासले नागरिक स्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गरे। पूर्व उपराष्ट्रपति परमानन्द झाले डा. लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले डा. लाल दास प्रेरणाको स्रोत भएको बताउँदै उनी शताब्दी पुरुषको हकदार भएको उल्लेख गरे।
जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिए। कार्यक्रममा समारोह समितिका सदस्य तथा काठमाडौं महानगरपालिका वडा. नम्बर ७ का वडा अध्यक्ष विमलकुमार होडाले पहिले गाउँ भनिए पनि चावहिल क्षेत्रमा दिग्गज व्यक्तित्वहरूको बसोबास रहेको बताए।
उनले आफ्नै आँगनमा सिद्धहस्त चिकित्सकको जन्मशताब्दी वर्ष मनाउन पाउँदा हर्षित भएको उल्लेख गर्दै डा. लाल दासको जीवनका केही महत्त्वपूर्ण पक्षबारे जानकारी दिएका थिए।
समितिका कोषाध्यक्ष मोहनमणि आचार्यले १५ सदस्यीय कार्यसमिति र २९ सदस्यीय सल्लाहकार समितिका सदस्यहरूको नामावली पढेर सुनाएका थिए। आउँदो असोज ९ गते काठमाडौंमा मूल समारोह समितिले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।