काठमाडौं - नेपाली कांग्रेसका मन्त्रीहरूले पहिलोपटक सरकारको समीक्षा गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेसका आठ मन्त्री समीक्षा बैठकमा बसेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक सकिएपछि उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीहरूलाई छलफलमा बोलाएका हुन् ।
पार्टी पदाधिकारी बैठकले सरकारको मूल्यांकन र दृष्टिकोणका साथै आफ्ना मन्त्रीहरूको कार्यशैलीबारे समीक्षा गर्न निर्देशन दिएको थियो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाहेक आठ मन्त्री सहभागी थिए । महत क्यानडा भ्रमणमा छन् । परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा सरकारका कामलाई प्रभावकारी बनाउने र पार्टीसँग सहकार्यलाई थप बलियो बनाउनेबारे छलफल भएको जानकारी दिए ।
‘कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूबीच सामूहिक रूपमा छलफल भयो । मन्त्रालयबीच परस्पर समन्वय र पार्टीसँग पनि उचित समन्वय गर्नेबारे कुराकानी भयो । सरकारका कामलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रह्यो,’ परराष्ट्रमन्त्री साउदले भने । मन्त्रीहरूबीच करिब दुई घन्टा लामो छलफल भएको थियो । कांग्रेसबाट खड्का, महत, साउदका साथै धनराज गुरुङ, रमेश रिजाल, मोहनबहादुर बस्नेत, सीता गुरुङ, डिकबहादुर लिम्बू मन्त्री बनेका छन् ।
बैठकमा सरकार एकलौटी ढंगले अघि बढेको कांग्रेस मन्त्रीहरूले स्विकारेका थिए । सरकारका काममा एकै धारणा बनाउने र पार्टीको नीति र घोषणापत्रअनुसार प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाइएको छ ।
‘आफैँ सहभागी सरकारबाट भएका निर्णय र काममा पनि फरक–फरक धारणा आउनु उचित हुँदैन । सबैको एकै धारणा बनाउने, कामलाई प्रभावकारी र पारदर्शी बनाउने गरी छलफल भएको छ,’ ती मन्त्रीले भने ।
पदाधिकारीहरूले केन्द्रीय समिति बैठकमा सरकारका कार्यशैलीबारे उठेको प्रश्नलाई सम्बोधन गरेर जानुपर्ने बताएका थिए । २ देखि १० साउनसम्म बसेको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा रहेका मन्त्रीहरूको कार्यशैलीलाई लिएर आलोचना गरेका थिए ।
उनीहरूले कांग्रेसले सम्हालेका मन्त्रालयमै मन्त्रीहरूबीच समन्वय हुन नसकेको र पार्टीसँग पनि तालमेल हुन नसकेको बताएका थिए।
केन्द्रीय समिति बैठकमा उपसभापति खड्काले सरकारको विषयमा आफूहरू समीक्षा गरेर सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार मंगलबार समीक्षा बैठक बसेको हो ।
कांग्रेसको बलियो सपोर्टमा सरकार गठन भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्र नीति र निर्णयमा हाबी देखिएका छन् ।
कांग्रेसका मन्त्रीहरू छायाँमा परेका छन् । प्रचण्डले पार्टीको एकमना सरकारको शैलीमा निर्णय गर्दै आएपछि कांग्रेसका मन्त्रीहरू समीक्षात्मक बैठकमा बसेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।