काठमाडौं - नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले राज्यविरुद्धका ठूला काण्डहरू सामसुम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन्।
आइतबार झापाको शिवसताक्षी नगरपालिकाको नगर सम्मेलनमा उनले अहिले चर्चामा रहेको सुनकाण्ड, ललिता निवास प्रकरणको काण्ड, गिरिबन्धु टीस्टेट प्रकरण शीर्ष नेताकै सहमतिमा सामसुम पार्न लागिएको भन्दै आपत्ति जनाए ।
उनले यी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने दोहोर्याए। ‘एउटाले भन्छ म सुनकाण्डको छानबिन गर्छु। अर्कोले ठूलो कुरा गर्छस् गिरि बन्धु टिस्ट्रेटको फाइल खोल्दिउँ भन्छ। फेरि त्यसले गिरिबन्धुको खोल्यो भने म तेरो शिविर घोटलाको खोल्दिन्छु। अर्कोले भन्छ त्यसो भए सबै मिलौँ केही पनि नखोलौँ। यो पाइन्छरु पाइँदैन,’ उनले भने। थापाले नेपाली कांग्रेसले यस्ता सबै प्रकारका काण्डको छानबिन गर्न दबाब दिन नहुने बताए।
‘नेपाली कांग्रेसले आज भन्ने कुरा चाहे त्यो यति ओम्नीको फाइल होस्, चाहे त्यो ललिता निवासको होस्, चाहे त्यो सुन काण्डको होस्, चाहे त्यो शिविर घोटलाको होस्,’ उनले भने, ‘जुनसुकै घोटलाको होस्।
जुनसुकै काण्ड होस् सबै काण्डको छानबिन हुनुपर्छ। हाम्रो पार्टीको होस् कि अर्को पार्टीको होस् कि पूर्व प्रधानमन्त्री होस् कि, जुनसुकै ठूलो नेता होस कि, सानो नेता होस् जोसुकै होस् एक जनाले पनि उन्मुक्ति पाउनुहुँदैन।
कांग्रेसले भन्नु सक्नुपर्छ। यसमा निर्दोष एक जना पनि पर्नुहुन्न, दोषी उम्किनु हुन्न।’ ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध बयान नलिने निर्णय सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको बारे पनि थापाले गलत भइरहेको बताए।
‘ललिता निवास प्रकरणको बारेमा छानबिन चलिरहेको छ। सुन काण्डको विषयमा अनुसन्धानमा चित्त नबुझेको भन्दै एमालेले भनिरहेको छ। हामी राज्यका संयन्त्र सक्षम छ भनिरहेका छौँ,’ उनले भने, ‘तर मैले समाचार पढे अनुसार हो भने कांग्रेसको महामन्त्रीको रुपमा कांग्रेसको सदस्यको रुपमा गम्भीर आपत्ति छ। हामी सबैको आपत्ति हुनुपर्छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।