काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने, नेपाली कांग्रेस पनि समिति गठनतिरै ढल्किने भएपछि माओवादीलाई सुनकाण्डले तहसनहस पार्ने देखिएको छ ।
सुन तस्करी प्रकरणले अन्ततः माओवादीमै भूकम्प ल्याउने देखिएको छ । अहिले माओवादीमा सबैभन्दा बढी टार्गेट पूर्वसभामुख कृष्णबहादुर महरा परेका छन् ।
विद्युतीय सिगरेटभित्र लुकाएर ल्याएको नौ किलो सुन महराकै भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवेदनमै लेखिसकेको छ । चाइनिज नागरिकले ल्याएपछि सिधै पहिलोपटक महराका बाबुछोरासँग सम्पर्क गर्नु भनेको महराले नै सुन ल्याएको प्रस्ट हुन्छ ।
उनको सुन तस्करसँग ३४ पटक फोन सम्पर्क हुनुले पनि महरा सुन कारोबारी भएको खुलेको हो । उनको कान्छा छोरा राहुलले दुई सयभन्दा बढी पटक तस्करसँग फोन गर्नु भनेको कारोबारी नै महरा बाबुछोरा भएको प्रस्ट हुन्छ ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न भएको भए जेल जान तयार हुनु भनेर चेतावनी दिनुले अब महरामाथि अनुसन्धान सुरु हुने निश्चित जस्तै भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीले महरामाथि आरोपैआरोप लगाएका थिए ।
अब पार्टीकै अध्यक्षले सुन तस्करी प्रकरणमा लागेको आरोपको आफैं प्रस्ट पार्न भनेपछि महराले यस विषयमा चाँडै मुख खोल्नुपर्ने भएको छ ।
यदि महरामाथि छानबिन सुरु भए एक क्विन्टल सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग बसउठ भएकाले वर्षमान पुन, ओनसरी घर्ती, नन्दबहादुर पुन पनि अनुसन्धानको दायरामा आउने निश्चित छ ।
सुन तस्कर दावा छिरिङको वर्षमान, ओनसरी, नन्दबहादुर पुन, दीपेश पुनसँग हार्दिक सम्बन्ध भएकाले उनीहरूलाई पनि छानबिनमा ल्याउनुपर्ने आवाज उठेको हो ।
एमालेले भनेको उच्चस्तरीय छानबिन समितिले सबै सुन तस्करीको छानबिन गर्ने भनेको छ । त्यसैले माओवादीका अधिकांश नेता अनुसन्धानको दायरामा पर्ने देखिएको छ ।
प्रधानमन्त्री र गृहमन्त्री आफ्नै पार्टीको भएका बेला माओवादी नेताहरूले सुन तस्करी गरेको एमालेको आरोप छ । प्रधानमन्त्री र गृहमन्त्रीले चाहे भने जति पनि सुन तस्करी गर्न सकिने भन्दै माओवादीको एउटा लबी सुन कारोबारीमा लागेको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।