काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको बेला आज बिहीवारका लागि बोलाइएको स्थायी कमिटी बैठक हिजो बुधबार नै स्थगित गरियो ।
निर्धारित स्थायी कमिटी बैठक अन्तिम समयमा आएर कसका कारण रोकियो । बुधबार सचिवालय बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट बाहिरिएपछि स्थायी कमिटी बैठक स्थगित भएको चर्चा भइरहेका बेला ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने बैठक स्थगित हुनुको दोषको भारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोकाएका छन् ।
नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकमा पेश हुने प्रतिवेदन तयार नगरेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको दोष लगाएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रतिवेदन तयार गर्ने भनिएपनि तयार नभएका कारण बैठक बस्न नसकेको बताए । बुधवारको सचिवालय बैठकमा विवाद भएर प्रधानमन्त्री हिँडेका कुरा गलत भएको उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीको व्यस्तताका कारण सचिवालय बैठकबाट हिँडेको तर्क मन्त्री पोखरेलले गरे । पोखरेलले पार्टीभित्रको विवाद छिट्टै हल हुने विश्वास व्यक्त गरेका छन् ।
यसअघि बुधवार बसेको नेकपा सचिवालय बैठकमा प्रतिवेदनका बारेमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठक छाडेर हिँडेका थिए । विवादका कारण बिहीवार बस्ने भनिएको स्थायी कमिटी बैठक पनि अनिश्चित बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।