काठमाडौं - केन्द्रीय समिति बैठकपछि नेपाली कांग्रेस एकढिक्का भएर अघि बढ्ने अपेक्षा गरिएकामा विग्रह सुरु भएको छ ।
पछिल्लो समय संस्थापनबाहेकका दुई (शेखर–गगन र सिटौला) समूहले सक्रियता बढाएका छन् । केन्द्रीय समिति बैठकपछि भ्रातृसंस्थाका असन्तुष्टि र कार्यक्रममार्फत यी समूह सक्रिय बनेका हुन् ।
कांग्रेसको संगठन सुदृढीकरण अभियान चलिरहेकै वेला महिला संघमा शेखर–गगन समूहले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठायो ।
लगत्तै नेविसंघको सात सय १० सदस्यीय कार्यसमिति घोषणा हुँदा दुवै समूहले असन्तुष्टि देखाएका छन् । केन्द्रीय नेताहरूले औपचारिक रूपमा भ्रातृसंस्थाको विषयमा मुख नखोले पनि आ–आफ्ना समूहमार्फत गतिविधि बढाएका छन् ।
संस्थापनइतर समूहका नेता गुरुराज घिमिरे केन्द्रीय समिति बैठकपछिको संकेतले इतर समूहमा उत्साह छाएको बताएका छन् ।
नेताहरूबीच निरन्तर संवाद भइरहेको र आगामी रणनीति बनाउने चरणमा रहेको उनको दाबी छ । बिहीबार डा. शेखर कोइराला र उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारबीच पछिल्लो अवस्था र रणनीतिबारे छलफल तय भएको थियो ।
तर, कानुनमन्त्रीसमेत रहेका गुरुङ मुटुमा समस्या देखिएर अस्पतालमा भर्ना भएपछि बैठक हुन सकेन । थर पनि बिहीबारै दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा नेता कोइराला र महामन्त्री थापाबीच छलफल भएको थियो ।
छलफलमा आगामी दिनमा ठोस रणनीति बनाएर अघि बढ्ने सहमति भएको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।