काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । सम्भवतः सोमबार पार्टी महामन्त्री, उपसभापति र सभापतिले आ–आफ्नो धारणा राखिसकेपछि बैठक सम्पन्न हुने छ ।
सभापति शेरबहादुर देउवा आजै बैठक सक्ने मनस्थितिमा देखिएका छन् । कांग्रेस इतिहासमै पहिलोपल्ट केन्द्रीय समिति बैठक फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
बैठक लाइभ हेरेका सर्वसाधारणले कांग्रेस नेताहरू को कति पानीमा रहेछन्, कस्तो बोल्दा रहेछन्, पार्टीलाई अगाडि बढाउन कस्तो विचार राख्दा रहेछन् भन्ने थाहा पाएका छन् ।
केन्द्रीय सदस्यदेखि सहमहामन्त्री, पूर्वपदाधिकारीको अभिव्यक्ति हेर्दा कांग्रेस सुध्रिने कुनै गुञ्जायस नेपाली जनताले देखेका छैनन् ।
आइतबार सहमहामन्त्री, पूर्वपदाधिकारी, सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्ति तमासाभन्दा केही फरक देखिएन । पदाधिकारी तहकै नेताहरू पनि मूल एजेन्डाबाट भड्किएर आरोप–प्रत्यारोपमै उत्रेका छन् ।
आइतबार आठ सहमहामन्त्रीले धारणा राख्दा उनीहरूले समूहगत आरोप–प्रत्यारोपमा समय खर्चेका छन् । इतर निकट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेले सभापति देउवाको आलोचना गरे ।
संस्थापननिकट ६ सहमहामन्त्रीले इतर समूहका गतिविधि र महामन्त्री गगन थापाको आलोचनामा समय व्यतीत गरे । बैठकमा कांग्रेसका पूर्वपदाधिकारी पनि गुटबन्दीको सिकार भए । दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिए । पूर्वउपसभापति विमलेन्द्र निधिले इतर समूहको रूपान्तरणको बहस निरर्थक भएको भन्दै रूपान्तरण आवश्यकता र निरन्तरको प्रक्रियाबाट आउने बताए ।
पूर्वमहामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता वितरणको समीक्षा गर्नुपर्ने बताए । ‘हामी कहाँ छौँ र कहाँ जाँदै छौँ ? आठ सय क्रियाशील हुँदा भोट दुई सय खस्छ । हामीले कस्तो क्रियाशील सदस्यता दिँदै छौँ । जबसम्म सदस्यता लिनेलाई हृदयदेखि कांग्रेसको नीति ठीक छ भन्ने लाग्दैन, संगठन हुँदैन । केन्द्रीय समितिले अधिकार पनि विकेन्द्रीकरण गर्नुप¥यो । तल्लो तहको वस्तुस्थिति हामीलाई थाहा हुँदैन । टिकटको जिम्मा तल्लो तहलाई दिनुपर्छ,’ उनले भने ।
नेता अर्जुननरसिंह केसीले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न गर्दै संस्थागत र विधिसम्मत प्रक्रियाबाट पार्टी सञ्चालन गर्न माग गरे ।
नेता डा. मीनेन्द्र रिजालले निर्वाचन प्रणालीमा प्रतिनिधिसभा प्रतिनिधिमूलक नभएको र बहसको आवश्यकता रहेको बताए । उनले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवा ०८४ मा पार्टीलाई राम्रो बनाउनुपर्छ भन्नेमा एक भएको, तर संसदीय दलको विषयमा मन डुलाउँदा एकाग्र भएर पार्टी निर्माणमा लाग्न नसकेको बताए ।
उनले तीनै तहमा कांग्रेस सरकारमा रहेकाले त्यसको आधारमा ०८४ को तयारीमा लाग्न सुझाव दिए । स्वास्थ्यमन्त्री मोहन बस्नेतले टिकट वितरणबाट नै आफूलाई पराजित गराउने खेल सुरु भएको दाबी गरे । ‘टिकट बाँड्नेमा हुनुभएका तपाईंहरू नै मलाई निर्वाचन क्षेत्र बदल्ने अवस्था ल्याएर हराउन लाग्नुभयो । तर, तपाईंहरूको दुर्भाग्य ! त्यहाँ गएर पनि धेरै मतान्तरले मैले जितेँ,’ बस्नेतले भने ।
केन्द्रीय सदस्य विनोद चौधरीले निर्वाचनमा आफूलाई कांग्रेसबाटै पराजित गर्ने भूमिका खेलेको गुनासो गरे । यसको फाइदा नयाँ उदाएका पार्टीले उठाएको चौधरीको भनाइ थियो ।
‘निर्वाचनमा अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गर्नुप¥यो । पार्टीको ठूलो तप्का कसरी हराउने भनेर वातावरण बनाउन लागिप¥यो,’ उनको भनाइ थियो, ‘नयाँ नयाँ पार्टीहरू सलबलाइरहेका छन्, नाम नै नसुनेका उम्मेदवार उठ्दा पनि भोट पाउँछन् । यस्तो अवस्थामा हामी एकढिक्का हुनुको साटो पार्टीकै नेताहरूबाट असहयोग हुनु गम्भीर छ ।’
चित्रलेखा यादवले कांग्रेसमा भावनात्मक एकता आवश्यक रहेको बताइन् । ‘कांग्रेसजनको शैली फरक भए पनि भाव एकै छ एकतामा । पार्टी र जनतासँग इमोसनल्ली एट््याच होऔँ, धेरै समस्या समाधान हुन्छ,’ उनको भनाइ थियो । परराष्ट्रमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउदले विपक्षी दलहरूबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भएको बताएका थिए । सहमहामन्त्री जीवन परियारले सभापति देउवाले पार्टीलाई गति दिन नसकेको आरोप लगाउँदै समीक्षाको माग गरे । ‘पार्टीका सबै संयन्त्र ठीकठाक छन् भन्ने हो भने पनि भनौँ ।
अब केही गर्नुपर्दैन भन्ने लागेको छ भने पनि त्यसै भनौँ । पार्टी सुधार गर्न बहस–छलफल हुनुहुँदैन भन्ने हो भने पनि भनौँ । पार्टीभित्र राजनीतिक सन्तुलन आवश्यक छैन भने पनि भनौँ । के यसैगरी निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौती सामना गर्न सक्छौँ ? विचारणीय छ प्रश्न छ, सभापतिज्यू,’ उनले भने ।
सहमहामन्त्री महेन्द्र यादवले परिणाम दिएका सभापति देउवाको विरोध गर्नेहरूले नकारात्मक प्रचार गरिरहेको, महामन्त्रीले सभापतिलाई बाइपास गरेर जिल्ला सभापतिको भेला गरेको आरोप लगाए । उनले खाणलाई राज्यले नै फसाएको जिकिर गरे । सहमहामन्त्री बद्री पाण्डेले पार्टीलाई मिलाएर जाने विषयमा उठेका प्रश्नलाई नेतृत्वले प्रतिशोधको रूपमा लिन नहुने बताए ।
पाण्डेले ०८४ को निर्वाचनका विषयमा चिन्ता लिनुभन्दा वर्तमानका समस्या समाधान गर्दै पार्टीलाई बलियो बनाएर एक्लै लड्ने या गठबन्धन भन्ने टुंगो लगाउनुपर्ने बताए । सहमहामन्त्री किशोरसिंह राठौरले महामन्त्रीद्वयप्रति लक्षित गर्दै पदाधिकारी नै गैरजिम्मेवार बनेको आरोप लगाए ।
उनले सभापति देउवाको बचाउ गर्दै बहुमतको निर्णय अल्पमतले स्विकार्नुपर्ने जिकिर गरे । सहमहामन्त्री भीष्मराज आङ्देम्बेले महामन्त्रीद्वय जिम्मेवारीबाहिर गएको आरोप लगाए । सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसकै अर्को समूहले पार्टी सकियो भनेर नेता–कार्यकर्ताको मनोबल गिराएको आरोप लगाइन् । खाणलाई केन्द्रीय सदस्यबाट निलम्बनमा कारबाहीको माग गर्नेमाथि उनी खनिइन् । सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसलाई सधैँ सक्रिय बनाउने कार्यक्रम आवश्यक रहेको तथा जनजीविकाका सवालमा स्पष्ट धारण आउनुपर्ने मत राखे । जनप्रतिनिधिले पार्टीका एकाइसँग समन्वय नै नगर्ने समस्या रहेको उनको भनाइ थियो ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीभित्रबाट कांग्रेसलाई कमजोर बनाउने खेल भएको र उपलब्धिमाथि प्रहार भइरहेको बताए । सभापतिलाई कमजोर बनाउने र पार्टीका विषयमा अनावश्यक हल्ला फैलाएको भन्दै उनको आक्रोश महामन्त्रीप्रति लक्षित थियो ।
बैठकमा सरकारको काम र मन्त्रीहरूको भूमिकामाथि केन्द्रीय सदस्यहरूले आलोचना गरेपछि मन्त्रीहरूले आफ्नै पार्टीको अर्थमन्त्री हुँदा पनि बजेट नपाएको र अन्तरमन्त्रालय समन्वय नभएको ब्रिफिङ गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भने अहिलेको आवश्यकता र अवस्था हेरेर बजेट बनाइएको सुनाए । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफ्नो मन्त्रालयमा बजेट कम परेको गुनासो गर्दै अभावबीच आफूले परिणाम ल्याउने गरी काम गरिरहेको दाबी गरे । अन्तरमन्त्रालय समन्वय नहुँदा समस्या परेको उनको भनाइ छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयमा पनि आवश्यक बजेट विनियोजन नभएको गुनासो गरे । बजेट कम हुँदा कतिपय स्थानमा माग भएका योजना अघि बढाउन नसकेको उनको भनाइ थियो ।
परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो मन्त्रालयले असंलग्न परराष्ट्र नीति अपनाएको, दुई छिमेकी मुलुकसहित सबै मुलुकसँग सन्तुलित सम्बन्ध राखेर विकासका अवसरको प्रयास गरिरहेको बताए । यसबीचमा प्रधानमन्त्रीको भारत भ्रमण मुख्य उपलब्धि भएको उनको भनाइ थियो । बैठक समूहगत आरोप–प्रत्यारोपमा केन्द्रित भएपछि इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले बैठक आरोप–प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको टिप्पणी गरेका थिए ।
उनले लामो समयपछि बसेको बैठक मूल एजेन्डाबाहिर रुमल्लिएको बताए । अहिले कांग्रेसका नेताहरूले जे जे बोलेका छन्, त्यसको भिडियो आगामी निर्वाचनमा छरपस्ट हुने सम्भावना धेरै छ । किनभने त्यसबेला भ्रष्टाचारमा मुछिएकालाई कारबाही गर्न नहुने, पार्टीलाई परिवर्तन र सुधारका पक्षमा लान नहुने भन्दै खनिने नेताहरूको दोहोलो जनताले काढ्ने निश्चित छ ।
यसपटकको केन्द्रीय समिति बैठकमा एकाध नेताबाहेक कसैले पनि पार्टीलाई सशक्त बनाएर लैजाने बारे विचार राख्न सकेको देखिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।