काठमाडौं - मंसिरको निर्वाचन र वैशाखको उपनिर्वाचनको परिणामपछि आमजनताले नेपाली कांग्रेस सुध्रिने, रुपान्तरण हुने, नयाँ ढंगले चलायमान हुने अपेक्षा गरेका थिए ।
पार्टीमा दुई महामन्त्री र केही युवा सहमहामन्त्रीले पार्टीलाई नयाँ ढंगले लैजाने प्रतिबद्धता जनाएका थिए । जारी कांग्रेस केन्द्रीय समितिको पहिलो र दोस्रो दिन नै बहुमतको आडमा संस्थापन पक्षका नेताहरूले भष्मासुर प्रवृत्ति देखाएपछि कांग्रेसमा रुपान्तरण एकदेशको कथा हुने निश्चित देखिएको छ ।
२०८४ को निर्वाचनमा जनताले तिरस्कार गरेपछि मात्रै संस्थापन पक्षका नेताको घैंटोमा घाम लाग्ने देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्न बनाएका एजेन्डाविरुद्ध अहिले सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य, प्रदेश सभापति खनिएका छन् ।
पार्टी दिनप्रतिदिन रसातलतिर पुग्दा पनि उनीहरू शेरबहादुरको जयजयगान गाउनमै व्यस्त छन् । उनीहरूले पार्टी सुधारबारे एउटा पनि सल्लाह र सुझाव दिन सकेका छैनन् । मात्र महामन्त्रीद्वयको आरिस गरिरहेका छन् ।
केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले बैठकका एजेन्डा, वर्षदिने क्यालेन्डर र विभिन्न प्रतिवेदनका विषयमा धारणा राखे।
सात दशक लामो इतिहास बोकेको कांग्रेसले इतिहासमै पहिलो पटक केन्द्रीय समिति बैठक लाइभ गरिरहेको छ। बुधबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले सभापति देउवाको प्रशंसा गर्न समय खर्चिए।
केन्द्रीय समितिको बैठक लाइभ गरेको, पार्टीलाई पहिलो बनाएको र सरकार गठनका बेला भत्किएको गठबन्धन ब्यूँत्याउन सफल बनेको भन्दै उनीहरुले देउवाको प्रंशसा मात्र गरेनन्, धन्यवादसमेत दिए ।
केही केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणको बचाउ गरे। कतिपयले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरे। देउवा पक्षीय केन्द्रीय सदस्यहरुले सभापतिको आलोचना गर्दा पार्टी नै कमजोर बन्ने तर्क समेत पेस गरेका छन्। लोकतान्त्रिक पार्टीमा नेतृत्वको आलोचनालाई सामान्य रुपमा लिइन्छ।
अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको तेजोबोधले पार्टी कमजोर हुने तर्क पेस गर्दै आलोचनालाई बन्देज लगाउनुपर्ने अनौठो तर्क पेस गरेका छन्।
मधेस प्रदेशका सभापति कृष्ण यादव, सुदुरपश्चिम सभापति वीरबहादुर बलायर, केशवकुमार बुढाथोकी, जीवनबहादुर शाही, नैनसिंह महर, डा. रणबहादुर रावल, गोविन्दबहादुर शाह, सीतादेवी देवकोटा, देवेन्द्रराज कँडेल, लक्ष्मी खतिवडा, नृपबहादुर वड, दिलमान पाख्रिन, राधा घले, जीवन राना, शान्ति परियार विक, सुशीला थिङ, नगिना यादव, जानकी सिंह, कुन्दन काफ्ले, गुरु बरालहरूले कांग्रेसलाई परिवर्तन गर्ने भन्दा पनि सभापति देउवाकै गुणगान गाए ।
महामन्त्रीको तेजोबध गर्ने प्रयास गरे । जसकारण अहिले बाहिरतिर कांग्रेस सुध्रिने कुनै गुञ्जायस नै नभएको टिप्पणी र विश्लेषण हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।