काठमाडौं - कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएका छन् ।
प्रदेश प्रमुखका तर्फबाट प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा २ वा ३ बमोजिम मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि दलहरुलाई दाबी पेस गर्न भनेका छन् ।
आगामी असार २१ गते अपरान्ह ५ बजेसम्म दलहरूले दाबी पेस गरिसक्नुपर्ने छ । यो धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
तर, कोसी प्रदेशमा कुनै पनि गठबन्धनसँग स्पष्ट बहुमत छैन । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार विश्वासको मत लिन नसकेपछि ढलेको थियो ।
९३ सदस्यीय कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ। कांग्रेसका २९, माओवादीका १२, एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेश सभा सदस्य छन् । एमालेका ४० र राप्रपाका ६ सदस्य छन्।
नेपाली कांग्रेसले भने कोसीको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ। कोसी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको हो ।
एमालेको सरकार ढलेपछि सत्ता साझेदर दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका वेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो।
सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरु भूपेन्द्र राई र टंक थापा, सहमहामन्त्रीहरू विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए। माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको छ ।
त्यसका लागि उसले इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ । एकीकृत समाजवादी कांग्रेस र माओवादीको झगडाको फाइदा उठाउन खोजिरहेको छ ।
संघीयताको विरोध गर्दै आइरहेको राप्रपा मुख्यमन्त्री पाए कांग्रेस र माओवादीको गठबन्धनमा सामेल हुने दाउमा छ । तर कांग्रेसमा आफूले मुख्यमन्त्री नपाए मध्यावधि निर्वाचनमा जानुपर्ने आवाज बलियो बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।