काठमाडौं - डेढ वर्षभन्दा अघि १३ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका कांग्रेसका युवा नेताहरू अहिले बाहिर बाहिर नेतृत्वको आलोचना गर्दै हिँडेका छन् ।
केन्द्रीय समिति बैठक नराखेको भन्दै उनीहरूले नेतृत्वको आलोचना गरिरहेका छन् । हुन पनि गत वर्ष भदौ ५ गते केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो ।
त्यसयता कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै सबै निर्णय गर्दै आएको छ । ११ महिना हुन लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेपछि केन्द्रीय सदस्यहरू रुष्ट भएका छन् ।
त्यसैले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार मसान्तभित्र बस्ने गृहकार्य सुरु भएको छ । कांग्रेस विधानमै वर्षमा दुई चोटि केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ ।
तर निर्वाचनलगायत विभिन्न राजनीतिक घटनाक्रमले बैठक पछि सर्दै आएको छ । मंसिरको निर्वाचनबारे समीक्षा गर्न भन्दै माघमा केन्द्रीय समिति बैठक बोलाउने तयारी थियो ।
तर त्यसबीचमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता, उपनिर्वाचनको तयारीलगायत कारण देखाउँदै बैठक बस्न सकेको छैन ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले असार मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए । उनका अनुसार सो बैठकले भदौमा हुने नीति महाधिवेशनको मिति तोक्ने छ ।
कांग्रेसले अनौपचारिक रूपमा भदौमा नीति महाधिवेशन गर्ने भनेको छ । तर मिति भने तोकेको छैन । कांग्रेसका कार्यबाहक सभापतिसमेत रहेका खड्काले सोही बैठकले नीति महाधिवेशनको मिति तोक्नेछ । साथै, केन्द्रीय विभाग र भ्रातृसंगठनलाई पूर्णता दिने र सदस्यता मनोनीत गर्ने विषयमा छलफल हुने छ ।
कांग्रेसमा अहिले विशेष महाधिवेशनको माग उठ्दै आएको छ । तर पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन नभई नीति महाधिवेशन गर्ने अडान राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।