काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समिति बैठक नबसेको नौ महिना बितिसकेको छ ।
गत भदौ ५ मा नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बसेयता अर्को बैठक बस्न सकेको छैन ।
विधानअनुसार हरेक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्ने बैठक पार्टी सभापति शेरबहादुर देउवाले नौ महिनादेखि टार्दै आइरहेका छन् । अहिलेसम्म पाँचवटाभन्दा बढी केन्द्रीय समितिको बैठक बस्नुपर्ने थियो ।
तर पार्टीको पदाधिकारी, पूर्वपदाधिकारी, कार्यसम्पादन समितिको बैठक भन्दै देउवाले केन्द्रीय समिति बैठक टार्दै आएका छन् । सो कारण डेढ वर्षअघि केन्द्रीय सदस्य निर्वाचित भएका नेताहरू प्यासिभ बन्न थालेका छन् ।
६ महिनाअघि स्थापित भएका पार्टीले चुनावमा ठूला दललाई चुनौती दिएर धेरै सिट जितेको कुरालाई कांग्रेस सभापति देउवाले बेवास्ता गर्दै आएका छन् ।
उनले पार्टीका सबै महत्वपूर्ण निर्णय सानो कोटरीबाट गर्दै आएका छन् । जसलाई लिएर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाउँदै आएका छन् ।
केन्द्रीय सदस्यमा युवा नेताहरूको बाहुल्यता छ । बैठकमा नेतृत्वको चर्को आलोचना गर्ने भयले पनि देउवा केन्द्रीय समितिको बैठक बोलाउन डराएको बताइन्छ ।
महामन्त्री थापाले सभापति देउवाको एकलौटी निर्णय गरेकाले पार्टीलाई ठूलो आघात पुगेको अभिब्यक्ति दिँदै आएका छन् । तेस्रो तहका केही नेताहरुले भने विशेष महाधिवेशनको माग गर्दै देउवाकै विकल्प खोजिरहेका छन् ।
कांग्रेस बाहिर जति बलियो देखिन्छ, आन्तरिक रुपमा त्यति नै कमजोर बन्दै गएको छ । पार्टीमा सभापति देउवाको एकलौटी निर्णय र कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गइरहेको छ ।
सरकार र सत्ता गठबन्धनमा बलियो हैसियतमा रहे पनि सरकारमा मन्त्री सिफारिस गर्नेदेखि रेशम चौधरीलाई जेलमुक्त गर्ने तथा नागरिकता विधेयक पारित गर्ने सन्दर्भमा देउवाले पार्टीका तर्फबाट एकलौटी सिफारिस गरेको इतर पक्षको आरोप छ ।
देउवाकै कारण पार्टी सुधार र पुस्तान्तरण हुने सम्भावना देखिन छाडेको छ । पार्टीमा रुपान्तरण र पुस्तान्तरणको अभियानका कारण विगतदेखिको संस्थापन र इतर पक्ष नभई नयाँ गुट जन्मिने देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।