काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन नेपाली कांग्रेस भर्सेस एमाले हुने भएको छ ।
पहिलो चरणमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदानबाट टुंगो लाग्ने भएको छ । बिहीबार बिहान सम्पन्न मतगणनामा अञ्जन श्रेष्ठले ३७, उमेशलाल श्रेष्ठले ३१ र रामचन्द्र संघईले ३० प्रतिशत मत प्राप्त गरेका थिए ।
त्यसैले पहिलो र दोस्रो धेरै मत ल्याउने अञ्जन र उमेशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । अञ्जन र रामचन्द्र दुवै कांग्रेस पक्षीय उम्मेदवार हुन् । तर दुवै उठेकाले पहिलो चरणमा नतिजा नआएको हो ।
अहिले वरिष्ठ उपाध्यक्षमा जसले जित्यो, तीन वर्षपछि उही स्वतः अध्यक्ष हुने भएकाले पनि उद्योगी व्यवसायीको चुनावमा सबैले चासो राखेका हुन् ।
महासंघको निर्वाचनमा संघईले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको र अञ्जनले कांग्रेस महामन्त्री गगन थापा समूहको समर्थन छ । कांग्रेसबाट अब अञ्जन एकल उम्मेदवार भएका छन्।
बिहीबार बिहान अञ्जनले कांग्रेस सभापति देउवासँग धुम्बाराही पुगेर कुराकानी गरेका थिए । देउवाले अञ्जनलाई सहयोग गर्ने बचन दिएको स्रोतले बतायो । यतिबेला कांग्रेस महामन्त्री थापा अञ्जनको पक्षमा खुलेर लागेका छन् ।
यदि संघईको सबै मत पाएमा अञ्जनले ६७ प्रतिशत मत ल्याएर चुनाव जित्ने छन् । अलिअलि उमेशलालले मत पाए पनि अञ्जन नै विजयी हुने सम्भावना छ । तर संघई पक्षले कसलाई सहयोग गर्ने घोषणा गरिसकेको छैन ।
उनी अञ्जन र उमेशलाल दुवैसँग वार्तामा रहेको बताइएको छ । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका छोरा हुन् उमेशलाल। साहना प्रधानका छोरासमेत रहेका उमेशलाललाई एमाले पार्टीको सहयोग छ।
एमाले अध्यक्ष केपी ओलीले उमेशललाई जिताउन भन्दै सर्कुलर गरेका छन् । उनले केही उद्योगी व्यवसायीलाई खुलेरै उमेशको पक्षमा भोट मागेको बुझिएको छ ।
अहिले मारवाडी र नेवार समुदाय भनेर उम्मेदवारको व्यवहारका कारण कित्ताकाट भएको छ। उमेशलाल एउटा मारवाडी विरोधीका रुपमा चिनिएका छन्। त्यसैले मारवाडी समुदायको समर्थन अञ्जनलाई हुन सक्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।