काठमाडौं- एमाले सरकारबाट बाहिरिएको झन्डै एक महिनापछि नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी भएको छ । आइतबार साँझ नेपाली कांग्रेसका दुई सांसद मन्त्री बनेका छन् । दुवैले हिजै पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । मन्त्री हुनेमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा छन् ।
मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा कांग्रेसले २७ सिट जितेको थियो । समानुपातिकबाट १० गरी कांग्रेसको ३७ सांसद छन् । कांग्रेस प्रदेशकै सबैभन्दा ठूलो दल हो । एमाले २७ र माओवादीका २१ सांसद छन् । तर सरकारको नेतृत्व भने माओवादीले गरिरहेको छ । माओवादीले पहिल्यै एमालेसँग मिलेर सरकार बनाएकाले मुख्यमन्त्री शालिकराम जम्कट्टेल बनेका छन् ।
कांग्रेसमा संसदीय दलका नेता बहादुरसिंह लामा भावी मुख्यमन्त्री हुन् । तर अहिले उनी आफैं भौतिक पूर्वाधार मन्त्री बनेका छन् । वेटिङ चिफ मिनिस्टरको लाइनमा रहेका लामा मन्त्री बन्न गएपछि कांग्रेसमा आश्चर्यका रूपमा लिइएको छ । यसअघि कांग्रेसबाट दलका उपनेता रामकृष्ण चित्रकारले नेतृत्व गर्ने चर्चा थियो ।
अहिले मन्त्री बनेका लामा साढे दुई वर्षपछि मुख्यमन्त्री बन्छन् कि बन्दैनन् भन्ने चासो बढेको छ । कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ र लामाबीच प्रतिस्पर्धा भएको थियो । लामा थोरै मतले विजयी भए । त्यसैले लामा साढे दुई वर्षपछि मुख्यमन्त्री बन्ने धेरैको अपेक्षा थियो । तर अहिले मन्त्री बनेर जानुले लामाको मुख्यमन्त्री पद सुरक्षित नहुने अनुमान गरिएको छ ।
अघिल्लो कार्यकालमा अहिले जस्तो कांग्रेस ठूलो पार्टी थिएन । बागमती प्रदेशमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो थिए । राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दा पनि तत्कालीन कांग्रेस दलका नेता बानियाँ मन्त्री बनेनन् । अहिले कांग्रेस ३७ सिट हुँदा दलकै नेता मन्त्री बन्न गएपछि कांग्रेसमा आश्चर्य मानिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।