काठमाडौं- नेपाल प्रेस काउन्सिलले आफ्नो वार्षिकोत्सव कार्यक्रमलाई शितलनिवासमा भव्यताका साथ आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रम पनि राखिएको छ।
देशभरबाट असंवैधानिका काम गरेको भन्दै विरोध भइरहेको समयमा यस्ता कार्यक्रम राष्ट्रपतिका लागि लाज राख्ने मञ्च बन्ने भएका छन्। सोही कार्यक्रममा लाज पचाएर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुने भएका छन्।
बुधबार सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै सञ्चारमन्त्री कार्कीले राष्ट्रपति भण्डारीले असंवैधानिक कदम चालेको र संसदीय प्रणालीलाई कमजोर बनाउन भूमिका खेलेको भन्दै आलोचना गरेका थिए। तर, २४ घण्टा नबित्दै सञ्चारमन्त्री कार्की लुसुक्क शितलनिवास छिर्ने भएका छन्।
सञ्चारमन्त्रीको यस्तो दोहोरो चरित्रको चर्को आलोचना भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उक्त कार्यक्रममा नजान निर्देशन दिए पनि राष्ट्रपतिको कार्यक्रम बहिष्कार गर्न नमिल्ने जवाफ सञ्चारमन्त्रीले दिएको बताइएको छ।
सोही कार्यक्रममा लोकतन्त्र र संविधानका लागि सक्रिय पत्रकारिता चलाउने र विशेषगरी संसदीय मामिलाका दख्खल राख्ने पत्रकार हरिबहादुर थापा पनि सहभागी हुने बुझिएको छ। उनले राष्ट्रपतिले गलत गरेको भन्दै आए पनि पुरस्कार थाप्न भने शितलनिवास जाने भएका छन्।
नेपालको संविधान २०७२ लाई कुल्चिने र संसदीय प्रणाली र लोकतन्त्रलाई खतरामा पार्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार बाँड्ने भएपछि केही पत्रकारहरुले बहिष्कार गरेका छन्।
प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम आयोजना गरी पत्रकारहरुलाई पुरस्कार बाँड्ने भएपछि पत्रकारहरुले धमाधम असंवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीको हातबाट पुरस्कार ग्रहण नगर्ने भन्दै बहिष्कार गर्न लागेका हुन्।
नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल र सचिव खगेन्द्र भण्डारी पुरस्कार वितरण कार्यक्रम बहिष्कार गरेका हुन्। प्रेस काउन्सिल नेपालले यसवर्षको क्रियाशील पत्रकारिता पुरस्कारका लागि नकुल अर्याल र युवा पत्रकारिता पुरस्कारका लागि खगेन्द्र भण्डारीलाई प्रदान गरिने भएको थियो।
युनियनका उपाध्यक्ष अर्यालले सामाजिक सञ्जालमा स्टाटास लेख्दै भनेका छन्, 'प्रस्तुत पुरस्कार यही असोज ६ गते विहीबार राष्ट्रपति कार्यालयमा आयोजना हुने समारोहबीच प्रदान हुने जानकारी आयोजकबाट मैले प्राप्त गरेको छु। राष्ट्रपति संस्थाप्रति मेरो उच्च सम्मान रहेपनि हालै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित विधेयक प्रमाणीकरण नगर्नु संविधानको गम्भीर उल्लंघन र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको घात हो भन्ने मेरो व्यक्तिगत धारणा छ।'
उनले डेढ दशक लामो पत्रकारिता यात्रामा आफूले सधैं संवैधानिक सर्वोच्चताको पक्षमा कलम चलाएको उल्लेख गर्दै भनेका छन्, 'संविधान उल्लंघनकर्ताको बाहुलीबाट सो पुरस्कार ग्रहण गर्न असमर्थ रहेकोले शीतल निवासमा आयोजना हुने पुरस्कार वितरण समारोहमा अनुपस्थित रहने घोषणा गर्दछु। प्रेस काउन्सिल नेपाललाई ५३ औं वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना।'
त्यसैगरी प्रेस युनियनका सचिव भण्डारीले यसवर्षको युवा पत्रकारिता पुरस्कारका लागि मलाई पनि छनोट गरेकोमा प्रेस काउन्सिललाई धन्यवाद दिएका छन्।
भनेका छन्, 'सदैव लोकतन्त्र र संवैधानिक सर्वोच्चतालाई आत्मसात गर्दै आएको म राष्ट्रपतिको हातबाट उक्त पुरस्कार नलिने घोषणा गर्दछु। यो पुरस्कारप्रति होइन, राष्ट्रपतिको असंवैधानिक कदमको विरोध हो।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।