काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका २ जना मन्त्रीलाई ‘बढुवा’ गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रभावशाली मन्त्रालय परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा कांग्रेसकै सुजाता कोइराला र नारायण खड्काको दाबी रहेपनि देउवाले दुबैलाई रोक्न र कार्कीलाई बढुवा गर्न परराष्ट्र मन्त्री बनाउन चाहेका छन् ।
कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि समेत कार्कीलाई परराष्ट्रमन्त्री बनाउनु उपयुक्त हुने मनस्थिति देउवाले बनाएका स्रोतको दाबी छ । देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई क्याबिनेट मन्त्रीको जिम्मेवारीमा बढुवा गर्ने तयारी गरेका छन् ।
यसअघि डा. गोबिन्द केसीले राज्यमन्त्री श्रेष्ठलाई स्वास्थ्यबाट हटाउन माग गरेका थिए । देउवासँगको भेटमा केसीले माग गरेपछि देउवाले पनि स्वास्थ्यबाट हटाउने आश्वासन दिइसकेका छन् । केसीको माग पूरा गर्न पनि राज्यमन्त्री श्रेष्ठलाई अन्य मन्त्रालयमा लैजानुपर्ने बाध्यतामा देउवा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।