काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त भएका सबै मन्त्रीलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि शुक्रबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् ।
देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेका सरकारका प्रवक्ता नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
बैठकले सरकारको प्रवक्तामा नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिलाई पुनर्गठन गर्ने निर्णय समेत गरेको छ ।
सरकारका प्रवक्ता कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सबै मन्त्रीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ र मुलुकको आवश्यकताअनुसार उत्साह र इमान्दारिताका साथ काम गर्न जनअपेक्षा अनुसार अगाडि बढनका निमित्त सबै मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ र आजको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने । मिति २०७८/०५/२५ मा गठित मन्त्रिपरिषद्का समितिहरू पुनर्गठन गर्ने । नेपाल सरकारको प्रवक्तामा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।