काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोडी जम्न थालेको छ । कांग्रेसको महामन्त्री बनेको ६ महिनापछि थापा र शर्माले देशको राजनीतिमा हस्तक्षेप गर्न थालेका छन् ।
जसको असर देखिन पनि थालेको छ । कम्युनिस्ट पार्टीहरूले एसपीपीलाई गिजोलेर कांग्रेसलाई सिध्याउन खोजेपछि गगन र विश्वप्रकाशले नेतृत्वदायी भूमिका निभाउनु परेको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई बोलाएर अनौपचारिक छलफल गरेपछि एसपीपीको च्याप्टर क्लोज भएको हो ।
सोमबार बालुवाटारमा सभापति देउवा र महामन्त्री थापा–शर्माले छलफल गरेका थिए । महामन्त्रीद्वयले सभापतिलाई एसपीपीको च्याप्टर क्लोज गर्न सुझाएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो ।
जसले गर्दा कम्युनिस्टहरूले खेल्ने मौका गुमाएका छन् । महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री देउवालाई विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका थिए ।
जसले मूर्त रूप पाउने अवस्था देखिएको छ । आज थापा र शर्माले विदेशमा रहेका नेपालीहरूलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएका छन् ।
आयोगका प्रमुख आयुक्त दिनेशप्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराउन लागिएको महामन्त्री शर्माले जानकारी दिए । मंगलवार बिहान महामन्त्री शर्मा र थापा निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।
विदेशमा रहेका नेपालीले त्यहीँ बसेर मतदान गर्न पाउनुपर्ने माग राख्दै आएका थिए । यदि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने अवस्था आएमा त्यो मत निर्णायक हुने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।