काठमाडौं - नेपाल वायुसेवा निगमका महाप्रबन्धक युवराज अधिकारीलाई कुट्ने, अश्लील गालीगलौज बोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई बर्खास्त गर्न चौतर्फी माग उठेको छ ।
नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सोमबार संयुक्त वक्तव्य जारी गर्दै असभ्य र अश्लील गालीगलौज गर्ने, कर्मचारीमाथि हातपात गर्ने गैरजिम्मेवार मन्त्री आलेलाई पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन्।
पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महत, पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाल, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा नैतिकताका आधारमा राजीनामा सुझाव दिँदै नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
‘विषयगत जानकारी नभएका, पदीय मर्यादाको याद नगर्ने, आफ्ना मान्छेलाई जागिर खुवाउन अनावश्यक दबाब दिने, अश्लील गालीगलौज गर्ने र हातपातसम्मका घटना घटाउनेजस्ता दुष्कार्य गरेर गैरजिम्मेवार बनेका मन्त्री आलेलाई उनको पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टीको छवि बचाउन प्रधानमन्त्रीज्यू र सम्बन्धित पार्टीलाई अनुरोध गर्दछौं,’ वक्तव्यमा भनिएको छ।
समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरेका यस्ता अश्लील र अराजक अभिव्यक्ति र गुन्डागर्दीको व्यवहार समभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने पनि वक्तव्यमा उल्लेख छ।
‘विगतदेखि वर्तमानसम्म प्रदर्शन गर्दै आएको हर्कत र व्यवहारले मन्त्री आले एकपछि अर्को विवादमा मुछिँदै स्वयं त इतिहासकै बद्नाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनुपर्ने लज्जास्पद अवस्था सृजना भएको छ,’ वक्तव्यमा भनिएको छ।
केही दिनअघि मन्त्री आलेले बोलेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । जनस्तरबाट जतिसुकै दबाब परे पनि प्रधानमन्त्री देउवाले उनलाई हटाउन सकेका छैनन् । आलेलाई हटाउँदा गठबन्धन सरकार नै संकटमा पर्ने डर देउवामा देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।