काठमाडौं - यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगर विवादमा परेका छन् । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कार्यकक्षमै हातपात र अश्लील गालीगलौज गरेपछि उनी विवादमा तानिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनको हर्कत बाहिरिएपछि आलेको सर्वत्र आलोचना मात्र भइरहेको छैन, उनलाई तत्काल बर्खास्त गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।
गत फागुन पहिलो साता मजदुरीका लागि भारतमा रहेका अछामका जगत वलीसँग मन्त्री आलेले गरेको कुराकानीको श्रव्यसामग्री ‘भाइरल’ भयो। सो सामग्रीमा मन्त्री आलेले वलीलाई अश्लील शब्द प्रयोग गरेर गालीबेइज्जती गरेका थिए।
मन्त्री आलेको लोकप्रियता देखेर तर्सिएकाहरू सुनियोजित रूपमा ‘डबिङ’ आवाज प्रयोग गरेर उनलाई बदनाम गर्न खोजेको दाबी उनको सचिवालयले दाबी गरेको थियो।
यति गर्दा पनि सत्य ढाकछोप गर्न नसकिने अवस्था आएपछि उनी स्वयं मिडियामा आए। त्यसक्रममा उनले ती युवाले आफूलाई धेरै ‘टर्चर’ गरेका कारण बाध्य भएर गाली गर्न पुगेको बताए। सो सामग्री एक वर्ष पुरानो भएको भन्दै पन्छाउने कोसिस गरियो।
घटना सामसुम पनि भयो। तर, सो घटना सामसुम भएको पाँच महिना नबित्दै मन्त्री आलेको त्यस्तै खालको अर्को अश्लील हर्कत शुक्रबार सार्वजनिक भएको छ।
आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गर्दै हातपात गरेको हर्कत सञ्चारमाध्यमबाट बाहिरिएको हो। पीडामा परेका कार्यकारी अध्यक्ष अधिकारीले मन्त्री आलेले आफूलाई ‘गोलीसमेत हान्ने धम्की दिएको’ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गरेर निवेदनसमेत दिएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन वायुसेवा निगम केन्द्रीय समिति, निगमकै कर्मचारी युनियन केन्द्रीय समिति, आधिकारिक ट्रेड युनियन र नेपाल वायुसेवा निगम कर्मचारी संघले छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गरेर मन्त्री आलेको बर्खास्तीको माग गरेका छन्। सामाजिक सञ्जालमा समेत आलेको अश्लील शब्दोच्चारणसहितको दुर्व्यवहारको चर्को विरोध भइरहेको छ। आले जब मन्त्री बन्छन्, तब विवादमा आइहाल्छन् ।
केपी ओली प्रधानमन्त्री भएकाले बेला आले वनमन्त्री थिए । उनले ओली सरकार ‘साढे सात गियरमा अगाडि बढ्छ’ भनेर अभिव्यक्ति दिएका थिए । त्यो निकै भाइरल बनेको थियो । त्यसबेला उनले ‘रुखले कार्बनडाइअक्साइड फाल्छ, त्यो मानिसले लिन्छन्’ भनेका थिए । त्यही भएर उनलाई सबैले ‘कार्बनडाइअक्साइड मन्त्री’ भनेर सामाजिक सञ्जालमा आलोचना हुँदै आएको छ ।
आलेले बोल्ने अश्लील शब्दलाई लिएर धेरैले उनी मन्त्री नभएर स्ट्यान्डअप कमेडियन भनेर संज्ञा पनि दिएका छन् । स्ट्यान्डअप कमेडियनले समेत अश्लील बोल्दैनन्, दोहोरो अर्थ लाग्ने गरी मात्र बोल्छन् । तर, आले भने सिधै मा.....मु... बोल्ने गर्छन् । आलेकै कारण देउवा सरकार निकै आलोचित बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।