काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारीको संख्या १३ जना रहेको छ । एक सय ३४ केन्द्रीय कार्यसमितिमा अब केन्द्रीय सदस्यहरूको परिणाम आउन बाँकी छ ।
त्यस्तै, पदाधिकारीमा पर्ने कोषाध्यक्ष चाँडै मनोनीत गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन् । केन्द्रीय सदस्यमध्येबाटै कोषाध्यक्ष मनोनीत हुनेछन् ।
देउवाले कसलाई कोषाध्यक्ष बनाउँछन् ? अझै केही दिन कुर्नुपर्ने हुन्छ । तर, कांग्रेसमा निर्वाचित पदाधिकारीमा उमेरगत सन्तुलन भने झल्किएको छ ।
सभापति देउवा ७५ वर्षका भएका छन् । उपसभापतिमा ६७ वर्षीय पूर्णबहादुर खड्का र ५६ वर्षीय धनराज गुरुङ छन् । सहमहामन्त्रीमा निर्वाचित फरमुल्लाह मन्सुर ६८, भीष्मराज आङ्देम्बे ५५, महालक्ष्मी उपाध्याय डिना ५३, महेन्द्र यादव ५८, उमाकान्त चौधरी र किशोरसिंह राठौर ५२, विश्वप्रकाश शर्मा ४९, बद्री पाण्डे ४७, जीवन परियार ४६ र गगन थापा ४५ वर्षका छन् ।
यस आधारमा नेपाली कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा गगन थापा सबैभन्दा कान्छा हुन् । पदाधिकारीमध्ये महामन्त्रीमा थापाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले तीन हजार २३ मत ल्याएका छन् । अर्का महामन्त्री शर्माले १९ सय ८४ मत पाए ।
धेरैपछि नेपाली कांग्रेसको पदाधिकारीमा कान्छा नेता आएका हुन् । कांग्रेसका संस्थापक नेता बिपी कोइराला ४२ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए ।
उनी पार्टी सभापतिसमेत सानै उमेरमा बनेका थिए । अनुभवी पाका नेता र जोसिला युवाहरूसहितको सन्तुलन मिलेको पदाधिकारी देउवाका लागि अनुकूल बन्न सक्छ । समन्वय गरेर आगामी तीनै तहको चुनावको तयारी गर्नसके देउवाका लागि पदाधिकारी शक्ति बन्ने धेरैको अपेक्षा छ ।
किनभने गगन र विश्वप्रकाश महामन्त्रीमा निर्वाचित भएसँगै देशभर नयाँ सन्देश गएको छ । कांग्रेसका नेता कार्यकर्ता मात्र होइन, विपक्षी दलका समर्थक र शुभेच्छुकसमेत खुसी भएका छन् ।
धेरै मानिस अबको निर्वाचनमा गगन र विश्वप्रकाशको जोडीले कांग्रेसको बहुमत ल्याउने आकलन गर्न थालिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।