काठमाडौं – कोभिड–१९ संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएर विभिन्न देशमा त्रास फैलिएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रत्येक दिन २ लाख नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई निःशुल्क रूपमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता अनुरूप प्रतिदिन न्यूनतम २ लाख जनालाई खोप अनिवार्य रुपमा दिलाउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
कोरोनाको नयाँ भेरियन्ट फैलिएका अफ्रिका सहितका ९ मुलुकबाट आउने यात्रुलाई बिहीवारैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय समेत गरिएको छ ।
मन्त्रिपरिषद्को मंसिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको ३ हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एसिया लगायतका मुलुकमा क्रमिक रुपमा फैलिँदै गइरहेको सन्दर्भमा नेपालले समेत समयमै सावधानी अपनाएर नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न नयाँ निर्णय गरिएको सरकारले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।