काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अब मात्र तीन साता बाँकी छ । आगामी मंसिर २४–२६ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने कार्यतालिका छ ।
पटकपटक महाधिवेशन कार्यकतालिका संशोधन हुँदै आएकाले यसपल्ट पनि सर्ने हो कि भन्ने चिन्ता आमकांग्रेसीमा छ । तर, महाधिवेशनका लागि होटल र आयोजनास्थल बुक गरिएकाले अब चाहिँ सर्दैन कि भन्ने देखिएको छ ।
कांग्रेसको १४औं महाधिवेशनमा केहीअघिसम्म एक दर्जन सभापतिका उम्मेदवार थिए । तर त्यो संख्या घट्दै गएको देखिएको छ । खासगरी संस्थापनइतर समूहमा सभापतिका आकांक्षी धेरै देखिएका थिए ।
अहिले पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवारी दिने बताइरहेका छन् । तर, उनका गुटका सबै नेता लाखापाखा लागिसकेकाले पौडेल सभापतिमा उठ्ने सम्भावना झिनो छ ।
संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिमा उठ्ने भएका छन् । निधिले आफूलाई सभापतिमा छाड्न देउवालाई आग्रह गरे पनि उनले अस्वीकार गर्दै पुनः दोहोरिने जनाउ दिइसकेका छन् ।
निधिलाई सभापतिमा उम्मेदवारी नदिन देउवा पक्षले दबाब दिँदै आएको छ । उता, पौडेल र कोइराला समूहमा फुट आएको छ । गणेशमान सिंह पुत्र प्रकाशमान सिंहले आफू सभापतिमा उठ्ने भन्दै अभियान सुरु गरिसकेका छन् ।
सिंहले यसपटक कसैलाई पनि नछाड्ने घोषणा नै गरेका छन् । कोइराला समूहबाट शेखर कोइराला धेरै अघि बढिसकेका छन् । हुन त महामन्त्री डा.शशांक कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार संखुवासभा पुगेर उनले आफू सभापतिको बलियो उम्मेदवार भएको दाबी गरे । तर, अन्तिममा उनले शेखर कोइरालालाई सहयोग गर्ने चर्चा पनि चलेको छ ।
प्रकाशमान र शेखर वा शशांकमध्ये दुईजना उठ्ने भएकाले पौडेल यसपटक सभापतिको उम्मेदवारी दिनबाटै वञ्चित हुने हो कि भन्ने परिस्थिति निर्माण हुँदै गएको छ । तर, पनि एकले अर्कोलाई कन्भिन्स गर्ने क्रम रोकिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।