काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि ७ जिल्लाको क्रियाशील सदस्यता नामावली विवरण सार्वजनिक गरेको छ ।
आज बुधवार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार सार्वजनिक गरिएको विवरणसँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भइसकेको छ ।
नेपाली कांग्रेसमा अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेको छ । क्रियाशील सदस्यता विवरण सार्वजनिकसँगै वडा अधिवेशन हुने गरेका छन् ।
अब २ नम्बर प्रदेशका ८ वटै जिल्ला, बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत र डोल्पा जिल्लाको क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी रहेको छ ।
महोत्तरी, पर्सा र कैलाली जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिए पनि नामावली सार्वजनिक भएको छैन ।
विवाद देखिएका २० जिल्लामा भदौ १८ गते वडा अधिवेशन नहुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गरिएको छ । २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तय गरिएको छ ।
नयाँ कार्यतालिका अनुसार पालिकाको अधिवेशन भदौ २७ गतेबाट असोज ९ गतेमा सारिएको छ । प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिने तोकिएको छ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय गरिएको थियो ।
एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० गतेबाट असोज १८ गतेमा जिल्ला अधिवेशन सारिएको छ तर प्रदेशको अधिवेशन कात्तिक १०–१२ गतेसम्म र महाधिवेशन मंसिर ९–१३ गतेसम्म गरिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।