काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् ।
पार्टीमा अब १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री रहने छन् ।
विगतमा उपसभापति, १ महामन्त्री, सहमहामन्त्री लगायतको पदमा सभापतिले मनोनित गर्ने गरिएकोमा पार्टीको १४औं महाधिवेशनबाट अब कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशन प्रतिनिधिबाटै निर्वाचित भएर आउने विधानमा उल्लेख गरिएको छ ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मुख्य पदमा निर्वाचनबाट पदाधिकारी चयन हुनुपर्ने कार्यकर्ताको आवाजलाई विधानबाट सम्बोधन गरेर कार्यान्वयनमा ल्याइएको बताए । कांग्रेसका लागि यो पहिलो पटकको परीक्षण भएकाले यसका आधारमा आगामी दिनमा नयाँ नीतिगत व्यवस्था गर्न सकिने उनको भनाइ छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको १४औं महाधिवेशनमा पार्टीले थप गरेका सबै पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको बताए । पदाधिकारीमा कांग्रेसले यस पटक ८ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । १३औं महाधिवेशनबाट १ जना मात्र मनोनित सहमहामन्त्रीको व्यवस्था गरिएकोमा यस पटक ८ वटै पद निर्वाचित हुने प्रावधान राखिएको छ ।
कांग्रेसको विधानमा महिला, आदिवासी/जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट १/१ जना गरी ८ सहमहामन्त्री निर्वाचित गर्ने प्रावधान छ । १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका सम्बद्ध क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिले सहमहामन्त्रीको चयन गर्ने छन् ।
सहमहामन्त्रीको पदलाई समावेशिताका आधारमा निर्वाचन गर्ने व्यवस्था कांग्रेसले पहिलो पटक कार्यान्वयनमा ल्याउँदैछ ।
विशेषगरी निर्वाचनबाट प्रभावशाली व्यक्तिहरू निर्वाचित हुनसक्ने भए पनि यसले नीतिगत खालको समस्यासमेत ल्याउन सक्नेतर्फ पनि आफूहरु सजग रहेको जनाइएको छ । खासगरी धेरै पदाधिकारीमा निर्वाचन हुँदा धेरै गुट उपगुटमा सिर्जना हुनसक्ने चिन्ता थपिएको उनी बताउँछन् ।
कांग्रेसको विधानमा कम्तिमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुने प्रावधान रहेको छ । त्यसैगरी कम्तीमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका २ जना उपसभापति र २ जना महामन्त्री चयन हुने प्रावधान रहेको छ ।
१४औं महाधिवेशनमा नयाँ प्रावधान कार्यान्वयनमा लगिएसँगै कांग्रेसको पदाधिकारीको संख्या १४ पुगेको छ । यसअघि निर्वाचित र मनोनित गरेर काँग्रेसको पदाधिकारीको संख्या ५ जनाको रहेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।