काठमाडौं – नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रतिस्पर्धाका लागि केन्द्रीय कार्यसमिति सभापति पदको उम्मेदवार बन्न ३० हजार रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्ने भएको छ ।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामा महाधिवेशनमा हुने उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ ।
पार्टीको केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २० हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हजार र केन्द्रीय महासमिति सदस्य पदका लागि ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रदेश कार्यसमिति सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ११ हजार र सदस्य पदका लागि ५ हजार शुल्क निर्धारण गरिएको छ ।
जिल्ला सभापतिका लागि १० हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि ३ हजार शुल्क तोकिएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापति पदका लागि ७ हजार, उपसभापति र सचिव पदका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापति पदका लागि ५ हजार, उपसभापति र सचिव पदका लागि ३ हजार, सहसचिवका लागि २ हजार ५०० रुपैयाँ र सदस्य पदका लागि २ हजार शुल्क तोकिएको छ ।
महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि ५ हजार, उपसभापति र सचिव पदका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्य पदका लागि २ हजार प्रस्ताव गरिएको छ ।
नगरपालिका कार्यसमिति सभापतिका लागि ३ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार र सदस्य पदका लागि १ हजार निर्धारण गरिएको छ ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि २ हजार, उपसभापति, सचिव र सहसचिव पदका लागि १ हजार र सदस्यका लागि ५०० रुपैयाँ तोकिएको छ ।
गाउँपालिका, नगरपालिका वडा कार्यसमिति सभापतिका लागि ५०० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ३०० रुपैयाँ र सदस्यका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ ।
निर्वाचन निर्देशिका केन्द्रीय कार्यसमिति बैठकमा छलफलका क्रममा रहेकाले पारित भएपछि लागू हुने जनाइएको छ ।

यसैबीच, सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रवार पुनः बस्ने गरी सकिएको छ । शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशनका विषयमा केन्द्रित हुने भएको छ ।
बिहीबार पहिलो दिनको बैठकमा उपसभापति विमलेन्द्र निधिले पार्टी समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन छलफलका लागि पेश गरेका छन् ।
पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यले बोलेका छन् । बैठकमा १४औं महाधिवेशनको परिमार्जित कार्यतालिका ल्याउनेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।