मंगलवार, श्रावण १९ २०७८Aug 03 2021

Logo
images

कांग्रेस महाधिवेशन सर्ने निश्चित तर कति दिन पर सर्ला ?

कांग्रेस महाधिवेशन सर्ने निश्चित तर कति दिन पर सर्ला ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 1.3K
    SHARES

  • कांग्रेस महाधिवेशन सर्ने निश्चित तर कति दिन पर सर्ला ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ तर कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन ।

    महाधिवेशन सार्ने सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ ।

    images

    कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन साउन १२ गतेबाट सुरू गर्ने गरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भएको छ ।

    अब कांग्रेसको वडा तहको अधिवेशन सार्दा साउन २८ वा २९ गते गर्ने गरी सार्ने तयारी गरिएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट उच्च स्रोतले वडा तहको अधिवेशन साउन अन्तिममा सार्ने विषयमा छलफल भइरहेको बताए तर मिति भने तय भइसकेको छैन ।

    पार्टीको १४औं केन्द्रीय महाधिवेशन भदौ १६–१९ गतेसम्म तय भएकोमा सो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भएको छ । भदौ १६ गतेबाट तोकिएको केन्द्रीय महाधिवेशन भदौ २८ गतेबाट सुरू गर्ने गरी छलफल भइरहेको छ ।

    ‘वडा अधिवेशन साउन २८ वा २९ गतेमा गर्ने, त्यो अवस्थामा भदौ २७ गतेबाट केन्द्रीय महाधिवेशन सुरू गर्ने विषयमा छलफल भइरहेको छ तर भदौभित्रै महाधिवेशन हुन्छ,’ कांग्रेस सभापति देउवानिकट उच्च स्रोतले भन्यो ।

    कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने वडा तह र गाउँ नगरको अधिवेशन सर्ने अवस्था रहेको बताए । ‘वडा र गाउँ नगरका अधिवेशन केही दिन सार्ने विषयमा छलफल भइरहेको छ तर अन्तिम मिति चाहिँ सार्न नहुनेमा सभापतिको जोड छ,’ उनले भने ।

    हाल कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिँदा महाधिवेशनको पूर्व निर्धारित मिति फेरबदल हुन लागेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार २० गतेभित्रै सदस्यताको काम सकेर ३० असारभित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नुपर्ने थियो तर हालसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन पाएको छैन ।

    सभापतिले सूची नबुझेसम्म त्यसले अन्तिम रुप पाउँदैन । सभापतिले बुझेर हस्ताक्षर गरेपछि मात्रै सदस्यताको विवरण जिल्ला हुँदै वडातहसम्म पुर्‍याउनुपर्ने हुन्छ ।

    हाल कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको बताउँदै आएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ । समितिले ती २ जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरिरहेको छ ।

    कांग्रेसमा महाधिवेशनका लागि विदेशस्थित जनसम्पर्क समितिबाट समेत गरी करीब ९ लाख क्रियाशील सदस्य पुग्ने सदस्यता छानविन समितिले अनुमान गरेको छ ।

    कांग्रेसले निर्धारण गरेको महाधिवेशन कार्यतालिका अनुसार साउन १२ गतेबाट वडा अधिवेशन, गाउँ र नगरको अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गतेका लागि तय भएको छ ।

    एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि तय छ । पूर्व निर्धारित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कांग्रेसको तयारी रहेको छ । अब यी सबै तहका कार्यतालिका केही दिन पर सर्ने भएका छन् ।

    हालसम्म कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४३ निर्वाचन क्षेत्रको सदस्यताको छानविन सकेको जनाएको छ । समितिले २२ निर्वाचन क्षेत्रको विवाद भने टुंग्याउन सकेको छैन ।

    हालसम्म समितिले छानविन गरेको १४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन गर्दा ७० वटा वडाको सदस्यता स्थगित गरिएको समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले बताए ।

    नयाँ र पुराना गरी विदेशबाट बाहेक ८ लाख ५० हजार २३२ जनाले क्रियाशील सदस्यतासम्बन्धी फाराम भरेका छन् । त्यसमध्ये ४ लाख ४४ हजार १४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद रहेको छैन ।

    सदस्यतामा सबैभन्दा बढी २ नम्बर प्रदेशमा विवाद देखिएको छ । २ नम्बर प्रदेशको बारा र सप्तरीका सबै निर्वाचन क्षेत्र, सर्लाही क्षेत्र नम्बर २, धनुषा क्षेत्र नम्बर ३, सिरहाको एउटा क्षेत्र र रौतहट क्षेत्र नम्बर १ को क्रियाशील सदस्यतामा विवाद रहेको छ ।

    सदस्यतामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा दिनहुँँजसो ती जिल्लाका प्रतिनिधिहरु धर्ना समेत बस्दै आएका छन् ।

    प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद कायमै छ । लुम्बिनीमा कपिलवस्तु–३ र प्यूठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद रहेको छ ।

    विवादित स्थानका सदस्यता नटुंगिए १३औं महाधिवेशनकै सदस्यतालाई आधार मानेर अधिवेशन गर्न सिफारिस गर्ने छानविन समितिको तयारी रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology