काठमाडौं – संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले र सबैभन्दा सानो दल जनता समाजवादी पार्टी (जसपा) मिलेर नयाँ सरकार बनाउन ५ सदस्यीय संयुक्त कार्यदल बनेर काम गरिरहेको रहस्य खुलेको छ ।
आज मंगलबार बसेको जसपा संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले वार्ता टोली गठन भएर काम गरिरहेको खुलासा गरे ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको विषयमा बैठकमा प्रश्न उठेपछि अध्यक्ष ठाकुरले वार्ता टोली गठन भएको खुलासा गरेका हुन् । वार्ता टोलीले गोप्य रूपमा काम गरिरहेको जनाइएको छ ।
बैठकमा सहभागी जसपाका एक सांसदका अनुसार वार्ता टोलीमा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु रिमाल र राजन भट्टराई रहेका छन् भने पूर्व राजपाको हैसियतमा सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्ता गरिरहेका छन् ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । जसपाभित्र केही नेताहरू नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।