काठमाडौं – प्रतिनिधि सभाको चौथो ठूलो दल तथा सत्ता फेरबदलमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठकको बैठक आज मंगलबार सिंहदरबारमा बस्यो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेसँग वार्ता गर्न संयुक्त कार्यदल गठन भएको जानकारी गराए । जसपाकै केही शीर्ष नेताहरूलाई समेत थाहा नदिई गोप्य रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य हुन थालेको खुलासा भएपछि नेपाली राजनीतिमा तरङ्ग फैलियो ।
नेकपा एमाले र जसपा मिलेर सरकार बनाउन सक्ने सम्भावना रहेकाले सरकार बनाउने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र झस्किए । अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई थाहै नदिई एकलौटी रूपमा एमालेसँग कुराकानी गरिरहेकाले पार्टीमा महन्थको मात्रै चलेन ।
अध्यक्ष उपेन्द्र यादवले जोडबल गर्दै संसदीय दलको बैठकबाट ओलीलाई धक्का लाग्ने निर्णय गराएका छन् । यसअघि ओली सरकारमा सहभागी भएर अपमानित हुँदै बाहिरिएका यादव पुनः ओलीसँग मिल्न चाहँदैनन् ।
तसर्थ यादवले आगामी सत्ता सहकार्यका लागि सबै दल र पक्षसँग वार्ता गर्ने विकल्प खुला राख्ने निर्णय गराउन सफल भएका छन् । यसअघि जसपा कार्यदलले एमालेसँग मात्रै गोप्य वार्ता गरिरहेको अवस्थामा अब नेपाली कांग्रेस र माओवादी केन्द्रसँग समेत वार्ता हुनेछ ।
मंगलबार साँझ सिंहदरबारमा सम्पन्न बैठकले नेकपा एमालेसँग मात्रै नभई सबै दल र पक्षसँग वार्ता गर्ने निर्णय गरेको छ । सांसद प्रमोदकुमार साहका अनुसार सबै दलसँग वार्ता गर्ने विकल्प खुला राखिएको बताए ।
यसअघि सत्ता सहकार्यका लागि एमालेको तर्फबाट विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र डा. राजन भट्टराई तथा जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित ५ सदस्यीय कार्यदल बनाइएको थियो । वार्ता टोलीमा उपेन्द्र यादवको तर्फबाट समेत १ जना सदस्य थप्ने निर्णय समेत बैठकले गरेको छ ।
एमालेसँग गठित संयुक्त कार्यदलले ४ पटकसम्म बैठक गरिसकेको स्रोतले जनाएको छ । आजै मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले जसपासँग वार्ता र छलफल गर्ने निर्णय गरेको थियो ।
माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यबारे मंगलबारै छलफल गरेका छन् । जसपाले सबैसँग सहकार्य गर्ने विकल्प खुला राखेपछि यसबाट प्रचण्डले फाइदा लिन सक्छन् कि सक्दैनन् ? हेर्न बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।