काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले देशमा बलात्कार र हत्याका घटना बढिरहेका बेला गृहमन्त्री रामबहादुर थापालाई गम्भीर प्रश्न गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै खतिवडाले गृहमन्त्रीलाई भने, ‘तिम्री छोरीलाई अपहरण गरेर हत्या गरेको भए के गर्थ्यौ ?’
देशमा अशान्ति र असुरक्षा बढेर कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या भएको स्मरण गर्दै नेता खतिवडाले गृहमन्त्री थापा असफल भइसकेका दाबी गरे ।
‘दोषी र अपराधीहरू पत्ता लागेका छैनन्, गृहमन्त्री के गरिरहेका छन् ? कामै नगर्ने तिमी गृहमन्त्रीलाई चिडियाखानामा राख्नुपर्ने भएको छ,’ उनले भने, ‘केपी ओलीका पालामा निर्मला हत्याकाण्ड भए, सम्झना विकजस्ता बलात्कृत भए । कारवाही भएको छैन । बैतडीमा भागरथी भट्टको बलात्कार गरेर हत्या भयो ।’
कम्युनिस्ट सरकारले जनतामा गरेका वाचाभन्दा एकले अर्कालाई आरोप लगाउने काम मात्रै गरिरहेको नेता खतिवडाको भनाइ छ । ‘३ वर्षसम्म ओलीसँग प्रचण्ड बालुवाटारमा एउटै खाटमा सुत्नुभयो । प्रचण्डले आफ्नी बुहारीलाई मन्त्री बनाउनुभयो । अहिले भागबण्डा नमिलेर एकअर्काको धोती खोल्न लागेका छन्,’ उनले भने, ‘सारा नेपाली जनतालाई नाङ्गो बनाउने कम्युनिस्टलाई अब हामीले नाङ्गो बनाउनुपर्छ ।’
नेपाली कांग्रेस बलियो भए मात्रै जनताले शान्ति र समृद्धि पाउने नेता खतिवडाले बताएका छन् । ‘नेपाली कांग्रेस कमजोर भयो भने देशमा प्रजातन्त्र, लोकतन्त्र र जनताका हकअधिकार कमजोर हुने रहेछन्, बोल्ने शक्तिहरू कमजोर हुँदा रहेछन्,’ उनले भने ।
संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभए पनि नेपाली कांग्रेसले सर्वाेच्च अदालतको फैसलालार्ई सम्मान गर्ने नेता खतिवडाले बताए । ‘संसद विघटन गर्नु प्रधानमन्त्रीको अधिकार थिएन, हामीले यसको विरोध गर्यौं,’ उनले भने, ‘यो विषय सर्वाेच्च अदालतमा परेकाले हामी अदालतलाई सम्मान गर्छाैं । यसको व्याख्या गर्ने अधिकार न केपी ओलीलाई छ, न प्रचण्डलाई छ, न शेरबहादुर देउवालाई छ, यो अधिकार सर्वाेच्च अदालतलाई छ । सर्वाेच्च अदालतले चुनाव गर्नुपर्छ भन्यो भने कांग्रेस पुच्छर लुकाएर भाग्ने छैन, चुनावमा गएर पहिलो पार्टी हुनेछ ।’
उनले अगाडि थपे, ‘कम्युनिस्टले जनतालाई दुःख दिनेबाहेक केही गरेनन्, घरघरमा ५ हजार दिने कुरा गरे, तर खै ५ हजार ?’

कम्युनिस्टले प्रतिनिधिसभा विघटन गरेर प्रजातन्त्रको अपहरण गरेकाले कांग्रेस विरोधमा उत्रिनुपरेको उनले बताए । ‘देशमा प्रजातन्त्रको अपहरण भयो । जनताको काम गर्न पठाएका प्रतिनिधि संसद विघटन गरेर पिङ उद्घाटन गर्न आए । त्यसको विरोधमा हामी आन्दोलित भएका छौं,’ नेता खतिवडाले भने ।
आफूले पहिल्यै नेकपा गठबन्धन धेरै नटिक्ने बताएको जानकारी दिँदै नेता खतिवडाले भने, ‘यो नेकपाको गठबन्धन भनेको धेरै दिन टिक्न सक्दैन भनेको थिएँ । तर उहाँहरूले भन्नुभयो यो गठबन्धन टिकाएर देखाउँछौं । ३ वर्ष नहुँदै फुटिसकेको छ । ३ वर्षमा भ्रष्टाचार, कुशासन, जनतालाई आतंकित बनाउनुबाहके अरु केही भएन ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।