काठमाडौं – आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भन्दा यस निर्वाचनमा अझ बढी खर्च हुने अवस्था रहेको बताए । तीन वर्षअघि प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन सँगसँगै हुँदा सात अर्ब ७५ करोड ९५ लाख ३७५ रुपियाँ खर्च भएको थियो ।
यो आयोगका तर्फबाट मात्र भएको खर्च हो । सुरक्षा संयन्त्र परिचालन गर्न गृह मन्त्रालयमार्फत गरिएको खर्च यसमा समावेश छैन । त्यस्तै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाबाट भएको खर्च समावेश छैन र त्यस्तो खर्चको व्यवस्थित तथ्याङ्क राखिने गरिएको छैन ।
कोरोना भाइरसको महामारीका कारण निर्वाचनको तयारीदेखि मत गणना र नतिजा सार्वजनिक गर्ने प्रक्रियासम्म पुग्दा स्वास्थ्यका सबै मापदण्ड अपनाउनुपर्ने भएकाले थप जनशक्ति परिचालन गर्दा खर्च अझ बढ्ने भनाइ प्रवक्ता श्रेष्ठको छ ।
निर्वाचनका लागि केन्द्रदेखि मतदान केन्द्रसम्म सञ्चालन गरिने निर्वाचन सञ्चालनसम्बन्धी तालिमका लागि होस् वा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा होस् कोरोनाबाट बचेर काम गर्नुपर्ने हुन्छ । निर्वाचन प्रयोजनका लागि पन्जा, सेनिटाइजर, थर्मल गन, स्प्रेलगायतका कतिपय थप सामग्री खरिद गर्नुपर्ने हुन्छ । अघिल्लो निर्वाचनमा यस्तो आवश्यक थिएन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।