काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुने औपचारिक प्रक्रिया निर्वाचन आयोगमा सुरू भएको छैन । बरु नेकपा एकीकृत नै रहेको पत्राचार निर्वाचन आयोगमा हुन थालेको छ ।
निर्वाचन आयोगलाई पत्राचार गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अध्यक्ष ओलीले पार्टी विभाजन नभएको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले निर्वाचन आयोगलाई पेश गरेको लिखित जवाफमा नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ २ नम्बर अध्यक्ष कायमै रहेको जनाइएको छ ।
निर्वाचन आयोगले गत बिहीवार नेकपाका दुवै पक्ष (प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष) लाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्र पठाएको थियो ।
ओलीले पार्टीका दुवै अध्यक्ष रहेको अवस्थामा नेता माधवकुमार नेपाललाई अध्यक्ष भन्नु औचित्यहीन भएको समेत जनाएको छ । ओलीले पत्रमा नेपाललाई अध्यक्ष बनाइएको भन्ने प्रचण्ड–नेपाल पक्षको दाबीको कुनै औचित्य र वैधानिकता नभएको समेत उल्लेख गरेको छ ।
अध्यक्ष ओलीको हस्ताक्षरमा आयोगलाई लेखिएको पत्रमा भनिएको छ, ‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनुभएको छ । यसरी दुबै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ ।’
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा २ खेमामा बाँडिएको छ ।
ओलीले नेतृत्व गरेको पक्षले आफू आधिकारिक पार्टी भएको दाबी गरिरहेको छ भने अर्को प्रचण्ड–नेपाल पक्षले आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।